बालुवाटारबाट अपमानित भएर निस्किए प्रचण्ड
काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादले उग्र रुप लिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न मंगलबार बालुवाटार पुगेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल अपमानित भएर फर्किएका छन् ।
आधा घन्टा बालुवाटारमा बिताएका प्रचण्डले धुम्बाराहीमा आफूलाई कुरिरहेका नेताहरूलाई ब्रिफिङ गर्दै आफूले बालुवाटारमा अपमानित हुनुपरेको सुनाएका थिए ।
प्रधानमन्त्री ओलीले प्रचण्डलाई अपमान गरेको उनले नेताहरूलाई सुनाएका थिए । उनीहरूवीचको कुराकानीकै क्रममा प्रधानमन्त्री ओलीले ठेगान लगाउने धम्की दिएको बुझिएको छ । ओलीलाई जानकारी गराएर केन्द्रीय सचिवालयको औपचारिक बैठक राख्ने प्रचण्ड पक्षको तयारी भए प्रधानमन्त्री ओलीको धम्कीले उनीहरु पछि हट्न बाध्य भएका छन्।
बालुवाटारमा ओली असहमत भए दाहालले नेकपा केन्द्रीय सचिवालयको औपचारिक बैठक बोलाउने बताएपछि केपी ओलीले कडा धम्की दिएको प्रचण्डले नेताहरूलाई बताएका थिए ।
ओलीले प्रचण्डलाई चेतावनी दिँदै भनेका थिए, ‘बैठक बसेर तपाईँहरु के गर्नुहुन्छ? तपाईँहरुले मविरुद्ध एक्सनमा जाने हो भने मैले पनि महाएक्सन लिन्छु, तपाईंहरूलाई ठेगान लगाउन सक्ने हैसियत छ मसँग। धेरै चुरीफुरी नगर्नुहोला । ’
प्रधानमन्त्रीको उक्त बचन सुनेपछि प्रचण्ड तत्काल बालुवाटारबाट निस्किएका थिए । त्यसपछि उनी सिधै धुम्बाराही पुगेका थिए । धुम्बाराही पुगेर केन्द्रीय सचिवालयका बहुमत सदस्यहरुको अनौपचारिक बैठक गरेका थिए।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन सहमतिका लागि दुई दिनको समय दिएका थिए।