धुम्बाराहीको बैठक अगाडी ओली-प्रचण्डको अर्थपूर्ण भेटघाट - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

धुम्बाराहीको बैठक अगाडी ओली-प्रचण्डको अर्थपूर्ण भेटघाट



काठमाडौँ- पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयका बहुमत सदस्यबीच छलफल हुनुअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

दाहालले मंगलबार दिउँसो ४ बजे पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयका सदस्यलाई छलफलका लागि बोलाएका छन् । त्यसअघि ओलीले भेट्न बोलाएपछि दाहाल बालुवाटार पुगेका थिए ।

यद्यपि दुई अध्यक्षबीचको छलफलमा के भयो भन्ने जानकारी आइनसकेको छैन । सचिवालयका बहुमत सदस्यलाई बैठकमा बोलाएपछि भएको उनीहरूको छलफल अर्थपूर्ण मानिएको छ ।

कात्तिक २१ मा पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष दाहालले बोलाएको अनौपचारिक बैठकमा पार्टीको औपचारिक बैठकको सहमतिका लागि ओलीलाई लिखित पत्रसहित सामूहिक भेटेर आग्रह गर्ने निर्णय गरेका थिए । त्यही निर्णयअनुसार कात्तिक २२ मा पुन: धुम्बाराहीमा छलफलपछि दाहालसहितका बहुमत सदस्य ओलीलाई दुई पेज लामो पत्र बुझाउन बालुवाटार गएका थिए ।

औपचारिक बैठकको सहमतिका लागि लिखित आग्रह गर्दै बालुवाटार जाने पाँच नेतामा कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ थिए ।

अध्यक्ष दाहालले पत्र बुझाउँदै दुई दिनभित्र बैठकका लागि सहमति दिन प्रधानमन्त्री ओलीलाई समय दिएका थिए ।