प्रधानमन्त्री ओलीसँग सहमति गर्ने मुडमा प्रचण्ड - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

प्रधानमन्त्री ओलीसँग सहमति गर्ने मुडमा प्रचण्ड



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र यतिबेला विवाद उत्सकर्षमा पुगेको बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसंग सहमति गर्ने मुडमा पुगेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सहमतिबिना कुनै पनि बैठक राखे पार्टी विभाजनको घोषणा हुने भन्दै पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई चेतावनी नै दिईसकेका छन् भने नेकपाकै नेताहरूबाट सहमति बाहिरबाट कुनै विकल्प खोजिए त्यसको परिणाम नराम्रो आउने चेतावनी आउन थालेपछि प्रचण्ड सहमति गर्ने मुडमा पुगेको स्रोतले बताएको छ ।

केन्द्रीय कमिटी र गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको म्यान्डेटअनुरूप प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतले बैठक बोलाउन सक्ने अधिकार भएता पनि प्रचण्ड भने पार्टी एकतालाई जोगाउन ओलीको सहमतिमै अघि बढ्न चाहिरहेको समेत बताइएको छ ।

नेकपाका दुई अध्यक्षबीच विवाद बढिरहेका बेला प्रधानमन्त्रीको सन्देश लिएर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । प्रचण्डनिवास खुमलटारमा भएको भेटमा महासचिव पौडेलले पार्टी विधानअनुसार सचिवालय बैठक बोलाउने जानकारी गराएको स्रोतको भनाई छ ।

एक नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म पनि बैठक नबोलाए प्रचण्डले नै सचिवालय बैठक बोलाउने तयारी प्रचण्ड-नेपाल पक्षले गरेका थिए। उक्त सचिवालय बैठकले स्थायी समिति बैठक डाक्ने तयारी भैरहेको थियो ।

कात्तिक २२ गते सचिवालय बैठकको माग राखी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले लिखित पत्र बुझाएका थिए।

नेताको उक्त आग्रह र अल्टिमेटमलाई अध्यक्ष ओलीले भने वेवास्ता गरिरहेका छन् ।