बाहिर हल्ला अर्कै, भित्र प्रधानमन्त्री ओलीको खेलो अर्कै - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

बाहिर हल्ला अर्कै, भित्र प्रधानमन्त्री ओलीको खेलो अर्कै



काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र अनेक खेल भैरहेका छन् । दिनहुँ जसो अनेक प्रचारवाजी गरिएपनि भित्र भने अर्कै खिचडी पाकिरहेको हुन्छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बाहिर प्रचण्ड-नेपाल समुहलाई विवादको जड भन्दै प्रचार गरेपनि, दोषी देखाएपनि भित्र भने उनीहरूलाई फकाउन अनेक प्रयत्न गरिरहेका छन् । पार्टीमै बहुमत समुहले उनको कार्यशैली र प्रवृत्तिमाथि प्रश्न उठाएर संकटमा परेका बेला प्रधानमन्त्री ओलीले कहिले माधव नेपाल त कहिले पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न अफर गरिरहेका छन् ।

हालै प्रशारण भएको प्रधानमन्त्री ओलीको एउटा अन्तर्वार्तामा पार्टी अर्को पुस्तालाई नेतृत्व दिने जोडतोडले बोलेपनि एकदिन नबित्दै ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई बालुवाटारमै बोलाएर अब पार्टीको नेतृत्व लिन र विवाद समाधान गर्न आफूलाई साथ् दिन आग्रह गरेका छन् ।

त्यतिमात्रै होइन पार्टीमा संकट ल्याउने र नक्कली आमाको संज्ञा दिएका प्रचण्डलाई फकाउन हरेक दिन फरक फरक रणनीतिका प्रस्ताव गरिरहेका छन् । आज सोमबार मात्रै पनि नेकपाका महासचिव विष्णु पौडेल पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश बोकेर बालुवाटार फर्केका छन् ।

बालुवाटारमा उनले अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रचण्डसँग भएको छलफलबारे जानकारी दिइरहेको बुझिएको छ।

सार्वजनिक रुपमा ओलीले प्रचण्डका कारण पार्टीमा विवाद उत्पन्न भएको दाबी गरे पनि भित्र भने उनलाई फकाउन आफ्ना ‘दूत’का रुपमा पौडेललाई खुमलटार पठाएका हुन्।

यसअघि उनले आफ्ना ‘दूत’का रुपमा पौडेललाई पटक–पटक खुमलटार पठाएका छन् भने नेता सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायत नेताहरुलाई खुमलटार पठाएका छन्।