बाइडनले थाले ह्वाइटहाउस जाने तयारी - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

बाइडनले थाले ह्वाइटहाउस जाने तयारी



एजेन्सी- अमेरिकी राष्ट्रपतीय चुनावको अन्तिम नतिजा आउनुअघि नै प्रत्यासी जो बाइडनले ह्वाइट हाउस जाने तयारी थालेका छन्। ह्वाइट हाउस अमेरिकी राष्ट्रपतिको कार्यालय हो।

निर्वाचित हुने राष्ट्रपतिले जनवरीमा मात्र हाइट हाउसको कुर्सी सम्हाल्न पाउनेछन्। त्यसअघि अन्तिम मतपरिणामअनुसार चुनाव जित्ने उम्मेदवारले जिम्मेवारी नसम्हाल्दासम्मका लागि एक संक्रमणकालिन (ट्रान्जिसन) समूह गठन गर्ने गर्छन्।

तर बाइडनले भने चुनावी परिणाम आउनुअघि नै यस्तो टीम गठन गरिसकेका छन्। यसअघिका उम्मेदवारहरूले पनि चुनावी परिणाम आउनुअघि नै यस्तो टीम गठन गर्ने गरेका थिए। आफूले जित्ने पूर्व विश्वासका साथ यस्तो टीम गठन गरी प्रत्यासीलाई मतगणनाकै बीच मानसिक दबाबमा राख्नु यसो गर्नुको उद्धेश्य हो।

बाइडनले बिल्ड ब्याक बेटर नामक ट्रान्जिसन वेभसाइट समेत चलाइसकेका छन्। वेभसाइटमा उनले लेखेका छन्, ‘देश जुन संकटबाट गुज्रिएको छ, यतिखेर महामारी र आर्थिक मन्दी एवम् जलवायु परिवर्तनजस्ता गम्भीर मुद्दा हामीसँग छन्। बाइडन-ह्यारिस प्रशासनले पहिलो दिनदेखि नै काम गर्न सहज हुनेगरी ट्रान्जिसन टीमले पूणर् र द्रुत गतिमा तयारी गर्नेछ।’

बुधबार बाइडनले पेरिस जलवायु सम्झौतामा अमेरिका फेरि सहभागी हुने बताएका थिए। बुधबार नै अमेरिका यो सम्झौताबाट बाहिरिएको थियो।

कार्यकाल दोहोर्‍याउन बाइडनसँग प्रतिष्पर्धा गरिरहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई यो सम्झौताबाट अलग गरेका हुन्।