अर्नव गोस्वामी ट्रेन्ड शिर्ष स्थानमा: बन्द भैसकेको मुद्दामा पक्राउ
बीबीसी- बुधबार मुम्बइ पुलिसले रिपब्लिक टिभीका सम्पादक अर्नब गोस्वामीलाई घरबाटै पक्राउ गरि पुलिसथाना लगेको छ । समाचार एजेन्सी एएनआइका अनुसार गिरफ्तारीका क्रममा आफ्नी पत्नी, छोरा र सासु–ससुरामाथि समेत पुलिसले हातपात गरेको गोस्वामीको आरोप छ ।
यसैबीच रिपब्लिक टिभी च्यानलका केही स्क्रिनशट यतिबेला सामाजिक संजालमा भाइरल बनाएका छन् जसमा पुलिस गोस्वामीको घरमा पसेर त्यहाँ केही झडप भएको देख्न सकिन्छ । सो भिडियोमा उनलाई भ्यानमा राखेर पुलिसले लाँदै गरेको देखिएको छ ।
रिपब्लिक टिभीले दाबी गरे अनुसार गोस्वामीलाई पहिले नै बन्द भइसकेको मुद्दाका लागि गिरफ्तार गरिएको छ । जसकारण घटना विवादास्पद बन्न पुगेको हो । मन्त्रीहरु लगायत केही हाइ प्रोफाइल व्यक्तिहरुले अहिले यस घटनाप्रति निन्दा व्यक्त गर्दै सत्ताको दुरुपयोग भएको आरोप समेत लगाइरहेका छन् ।
पुलिसले भने के कारणले उनी गिरफ्तार भएको भन्ने आधिकारिक जानकारी दिएको छैन । यस घटनासँगै अहिले ट्वीटरमा अर्नब गोस्वामीको नाम सबैभन्दा शिर्ष स्थानमा ट्रेन्ड भइरहेको छ ।
यता अभिनेत्री कंगना रनावतले पनि यस सम्बन्धी ट्वीटर मार्फत प्रतिक्रिया दिँदै विरोध जनाएकी छन् । केन्द्रिय सूचना प्रशारण मन्त्री प्रकाश जावडेकरले यो घटनाले आपत्कालीन समयको याद दिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । मुम्बइमा प्रेस पत्रकारीतामाथि भएको यस किसिमको हमलालाई उनले निन्दनीय ठहर गरेका हुन् ।
केन्द्रिय रेल मन्त्री पीयूस गोयलले पनि यो घटना प्रेस स्वतन्त्रतामाथिकै ठूलो हमला भएको भनि विरोध जनाएका छन् । उनले ट्वीटर मार्फत गोस्वामीलाई त्यसरी पक्राउ गर्नु सत्ताको दुरुपयोग गरिएको स्पष्ट उदाहरण भएको बताएका हुन् ।
अर्कोतर्फ शिवसेना सांसद सन्जय रावतले चाहिँ अर्नब गोस्वामी विरुद्ध जारी कारबाहीको महाराष्ट्र सरकारसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । सरकारले कहिल्यै पनि बदलाको भावनाले कारबाही नगर्ने हुनाले पनि घटना कुनै हिसाबले अराजक नभएको उनले बताएका हुन् ।
अर्का मन्त्री रविशंकर प्रदादले चाहिँ गोस्वामीको गिरफ्तारी सम्बन्धी महाराष्ट्र सरकारमाथि प्रश्न उठाएका छन् । उनले यो घटनालाई चिन्ताजनक र अनुचित ठहर गरेका हुन् । यता केन्द्रिय मन्त्री स्मृति इरानीले पनि ट्वीट गर्दै यस मुद्दामा अर्नबको साथ नदिनेहरु दमनको पक्षमा भएको बताएकी छन् । उनका कुराहरुसँग सहमत नभएपनि प्रेस स्वतन्त्रताको विषयमा चुपचाप बस्नेहरु वास्तवमै फाँसीवादका समर्थक भएको उनले लेखेकी छन् ।