नेपालबारे विवादास्पद अभिव्यक्ति दिने अर्नव गोस्वामी पक्राउ
काठमाडौं- भारतको रिपब्लिक टिभीका सम्पादक अर्णव गोस्वामीलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ। अरनवलाई बुधबार बिहान उनको मुम्बईस्थित घरबाट पक्राउ गरेको हो। प्रहरीले उनलाई भ्यानमा बसाएर रायगढ पुलिस चौकी लगेको छ।
रिपब्लिक टिभीले प्रहरी जबरजस्ती घरमा छिरेको आरोप लगाएको छ। अरनवलाई ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्याको लागि उकसाएको आरोपमा पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको छ।
सन् २०१८ मा एकजना इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको आरोप अरनवमाथि छ।
प्रहरीले यो मुद्दा बन्द गरिदिएको थियो। तर, अहिले फेरि छानबिन सुरू गरेको छ। प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको अरनवले आरोप लगाएका छन्।
रिपब्लिक टिभीका अनुसार कार्यकारी सम्पादक निरन्जन नारणस्वामीलाई प्रहरीले रिपोर्टिङमा रोक लगाएको छ।
अरनवकी श्रीमती साम्यब्रता रे गोस्वामीले प्रहरी घरभित्र प्रवेश गरेर दुर्व्यवहार गर्नुका साथै लतारेर भ्यानमा बस्न लगाएको बताएकी छिन्।
रिपब्लिक टिभीले यो घटनालाई महाराष्ट्रमा ‘अघोषित आपतकाल’ सुरु भएकाे बताएको छ।
महाराष्ट्रमा सत्तारूढ दलका नेता सन्जय राउतले प्रहरीले नियमको पालना गरेको बताएका छन्। कुनै व्यक्तिविरुद्ध प्रमाण भए प्रहरीले कारबाही गर्न सक्ने उनको भनाइ छ।
उद्धव ठाकरेको सरकार बनेयता महाराष्ट्रमा रिसिइवी साँध्ने काम नभएको राउतले बताएका छन्।
अरनवको गिरफ्तारीलाई भारतीय जनता पार्टीले विरोध गरेको छ। केन्द्रीय सूचना एवं प्रसारणमन्त्री प्रकाश जावडेकरले भनेका छन्,‘मुम्बईमा प्रेस–पत्रकारितामाथि भएको आक्रमण निन्दनीय छ। आपतकाल झैँ महाराष्ट्र सरकारले कार्यबाही गरेको छ। हामी यसको भत्र्सना गर्दछौँ।’
यसैगरी केन्द्रीय कानुनमन्त्री रविशंकर प्रसादले पनि घटनाको विरोध गरेका छन्।
‘वरिष्ठ पत्रकार अरनव गोस्वामीको गिरफ्तारी निन्दनीय र चिन्तनीय छ। १९७५ को इमरजेन्सीमा हामीले प्रेस स्वतन्त्रताका लागि लडाइँ लडेका थिायौँ,’ रविशंकरले भनेका छन्।
‘मतभिन्नता हुनसक्दछ, बहस गर्न सकिन्छ र प्रश्न सोधिन सकिन्छ। तर, अर्णव गोस्वामी जस्तो पत्रकारलाई प्रश्न सोधेकै कारण पक्राउ गर्नु निन्दनीय छ,’ उनले भनेका छन्।
पछिल्लो केही दिनयता अर्णबले आफ्नो कार्यक्रममार्फत लगातार महाराष्ट्रको ठाकरे सरकारमाथि प्रहार गर्दै आइरहेका थिए।