पूर्व एमाले मिलाउन ओली पक्षका नेताहरूको दौडधुप: एक्लिएलान् त प्रचण्ड ? - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

पूर्व एमाले मिलाउन ओली पक्षका नेताहरूको दौडधुप: एक्लिएलान् त प्रचण्ड ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले पार्टीको क्षति न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर लागिरहेका छन्। तीन दिन यता उनीहरु विभिन्न समूह मार्फत पूर्व एमालेहरुलाई मिलाएर पार्टी र सरकारको क्षति न्यूनिकरण गर्न लागिरहेका छन्।

आइतबार साँझ लाजिम्पाटस्थित एक होटलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वमन्त्री खगराज अधिकारी, महेश बस्नेत, केन्द्रीय सदस्य आनन्द पोखरेल लगायतका करिब १५ जना नेताहरुको एउटा भेलाले अबका दिनमा पार्टीलाई बढी क्षति हुन नदिने र पूर्व एमालेहरु मिलेर जानुको विकल्प नभएको निष्कर्ष निकाले थिए। त्यसयता उनीहरु निरन्तर छलफलमा लागेका छन्।

उनीहरुले ओली र नेपाल मिलाउन मध्यमार्गी भूमिका खेल्ने भएका छन्। ‘हामीले अबको विकल्प ओली नेपाल मिल्नुमै देखेका छौ, पूर्व माओवादीहरुलाई पार्टीमा प्रयाप्त स्थान दिइएको छ ।उनीहरुलाई साथमा लिएर जानुपर्छ तर सधै ओली नेपाल फाटो गरेर बाटो अलग बनाउन सकिँदैन भनेका छौ’, छलफलमा सहभागी एक नेताले भने।

ओली समूहका धेरैजसो नेता नेपालसँग मिल्नुपर्ने पक्षमा छन्। विजय सुब्बा, गोकुल बाँस्कोटा, महेश बस्नेत, खगराज अधिकारी लगायतका धेरै नेताहरुले यसअघि पनि ओली नेपाल मिल्नुपर्ने बताउँदै आएका थिए।

विजय सुब्बा लगायतको एउटा पंक्तिले सोमप्रसाद पाण्डे तथा लालबाबु पण्डितहरुसँग धेरै पटक यो विषयमा कुराकानी समेत गरिसकेको छ। ‘हामीले नेताहरु मिलेर जानुपर्छ कहाँ कहाँ के के मिलेको छैन त्यसलाई पनि मिलाएर पार्टी एकतालाई बलियो बनाऔ भनेका छौ, खासगरी जनताले दिएको मतको अबमूल्यन नहोस भन्ने हाम्रो उदेश्य हो। यो विषयमा ओली, दाहाल र नेपाल जानकार छन् भन्ने हाम्रो बुझाइ हो’, नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद विजय सुब्बाले भने।

ओली समूहका नेताहरु शंकर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, राजन भट्टराई र सूर्य थापाको समूहले राजनीतिबाट अवकाश लिइसकेका प्रदीप नेपाललाई समेत भेटेर ओली नेपाल मिलाउने सूत्रधार बन्न आग्रह गरेका थिए।

त्यसकै भोलिपल्ट सोमबार माधव नेपाल प्रदीप नेपालकै घरमा पुगेर भेटघाट समेत गरेका छन्। यसरी हेर्दा ओली पक्ष पछिल्ला दिनमा नेपालसँग मिल्नुको विकल्प नभएको निष्कर्षमा पुगेको देखिन्छ। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।