प्रधानमन्त्रीको उपचारमा राज्यको करोडौँ खर्च, तर जनताको उपचार आफ्नै खर्चमा गर्न उर्दी - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

प्रधानमन्त्रीको उपचारमा राज्यको करोडौँ खर्च, तर जनताको उपचार आफ्नै खर्चमा गर्न उर्दी



काठमाडौं- जनतालाई आफै उपचार गर भन्ने देशका प्रधानमन्त्री केपी शर्मा ओलीले नै राज्यको करोडौँ रकम आफ्नो उपचारमा खर्च गरेको फेला परेको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो उपचारको लागि २०७३ सालसम्म मात्रै १ करोड २६ लाख भन्दा बढी खर्च राज्यकोषबाट गरेको तथ्य फेला परेको हो ।

तर,

कोरोना भाइरसको महामारी चलिरहेको बेला मन्त्रिपरिषदको गत असोज १९ को बैठकले आफ्नो उपचार आफै गर्ने निर्णय ग-यो ।

कात्तिक २ गते नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबै संक्रमितको सरकारले उपचार गर्न नसकिने बताएपछि व्यवापक आलोचना भयो ।

तर जनतालाई आफ्नो उपचार आफै गर्न भनेर निर्णय गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि राज्यबाट ठूलो रकम लिएको खुलासा भएको छ ।

अर्थ मन्त्रालयको रिपोर्टअनुसार उनको उपचारका लागि ०७३ सम्म मात्र राज्यले एक करोड २६ लाख ३५ हजार एक सय ३७ रुपैयाँ खर्च गरेको थियो ।

त्यसयता पनि उनी पटक–पटक सिंगापुर गएका छन् । पछिल्लोपटक गत वर्ष सिंगापुर जाँदा भने उनले हवाई खर्चबाहेकको रकम आफैँ व्यहोर्ने घोषणा गरेका थिए ।

उनी मात्र होइन, नेता र पहुँचवालाको उपचारमा राज्यकोषबाट चार अर्ब खर्च भएको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार ०६२-६३ पछि एक दशकभित्र राज्यले पहुँचवालाको उपचारमा तीन अर्ब ८८ करोड नौ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ ।

‘यो रकम खर्च भएको भए नेपालमा एउटा स्तरीय अस्पताल खोल्न सकिन्थ्यो जहाँ नेता तथा जनताको निःशुल्क उपचार गर्न सकिन्थ्यो,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘तर, ठूलाबडाको ध्यान विदेशमै उपचार गर्ने भन्ने छ, त्यसैले पैसा विदेश गएको छ, देशको स्वास्थ्य सेवा पछाडि परेको छ ।’