धुलिखेल, शिक्षण, पाटन र टेकु अस्पतालमा निःशुल्क उपचार हुने सबै ढोका बन्द - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

धुलिखेल, शिक्षण, पाटन र टेकु अस्पतालमा निःशुल्क उपचार हुने सबै ढोका बन्द



काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितलाई भर्ना गर्नुअघि २० देखि ७५ हजारसम्म धरौटी जम्मा गर्नुपर्छ ।

अस्पतालका अनुसार सामान्य आइसोलेसन खर्च दैनिक तीन हजार पाँच सय, लक्षणसहितका संक्रमितको आइसोलेसन खर्च सात हजार पाँच सय र आइसियूमा बस्नुपर्ने संक्रमितको खर्च दैनिक १५ हजार तोकिएको छ ।

शिक्षण अस्पताल महाराजगन्जका कोभिड संयोजक डा.सन्तकुमार दासका अनुसार संक्रमितले भर्ना हुनुअघि १० देखि ४५ हजारसम्म धरौटी जम्मा गर्नुपर्छ।

अस्पताल आफैँले गरिब पहिचान खुल्ने फारम तयार पारेकाले कसैले उपचार गर्दागर्दै खर्च सकियो वा उपचार गर्न नसक्ने अवस्था आएमा फारम भराएर निःशुल्क उपचार पनि भइरहेको उनले बताए।

धुलिखेल अस्पतालले २ कात्तिकदेखि लागू हुने गरी ५० हजारदेखि दुई लाख रुपैयाँसम्म धरौटी जम्मा गर्नुपर्ने सूचना जारी गरेको थियो । तर, त्यो सूचना बिरामीको हितमा नभएको भन्दै धरौटी राख्नुपर्ने व्यवस्था खारेज गरिएको डिन डा.राजेन्द्र कोजूले बताए।

वीर अस्पतालमा भने कोरोना संक्रमितसँग छुट्टै धरौटी रकम लिने गरिएको छैन। अस्पतालका निर्देशक डा.केदार सेन्चुरीका अनुसार वर्षौँदेखि आइसियूमा राख्ने बिरामीसँग १० हजार र पेइङ बेडमा बस्ने बिरामीबाट एक हजार धरौटी लिइँदै आएको छ, जुन अहिले पनि जारी छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

सिभिल सर्भिस अस्पतालले पनि संक्रमितको उपचार गर्दा अग्रिम धरौटी नलिने गरेको जनाएको छ। निजामती कर्मचारी अस्पताल संघका अध्यक्ष सन्तोष धिमालका अनुसार कोभिडभन्दा अघिदेखि नै अस्पतालले एकदेखि दुई हजार रुपैयाँ धरौटी लिने गरेको थियो, त्यो अहिले पनि जारी छ।

‘कोभिडका लागि भनेर अस्पतालले सूचना जारी गरी धरौटी लिएको छैन,’ उनले भने। केही समयअघि क्यान्टिनमा खाना खानुपूर्व पैसा जम्मा गनुपर्ने नियम कोरोनाका बिरामीको नभएर कुरुवाहरूको भएको र त्योसमेत अहिले रोकिएको धिमालले बताए।

सरकारले कोरोना संक्रमितको दैनिक उपचार खर्च तीन हजार पाँच सयदेखि १५ हजारसम्म लिन पाउने व्यवस्था गरेको छ । तर, निजी अस्पतालहरूले भने सरकारी निर्णय कार्यान्वयन गरेका छैनन्, मनलाग्दी बिल बनाउने गरेका छन्।