ओली-नेपाल लामो छलफल: समीकरण बदलिन सक्ने
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्ध बिग्रिएको हल्ला चलेकै बेला नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाललाई बालुवाटारमै बोलाएर प्रधानमन्त्रीले लामो छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले बोलाएपछि नेता नेपाल मंगलबार साँझ बालुवाटार पुगेका थिए । स्रोतका अनुसार उनीहरूबीच करिव साढे २ घण्टा वार्तालाप भएको थियो ।
नेकपाको विवाद केन्द्रबाट प्रदेश हुँदै गाउँसम्मै पुगेको बेला प्रधानमन्त्री ओलीले नेता नेपालसंग सहकार्यको प्रयास गर्दै आइरहेका छन् ।
उनीहरूबीच भएको पछिल्लो भेटलाई नेकपा भित्र पनि अर्थपूर्ण रुपमा लिइएको छ ।
नेकपाका एक नेताले भेटलाई प्रधानमन्त्री ओलीले नेपालसँग सहकार्यको प्रयास गरेको बताएका छन् । भेटमा प्रधानमन्त्री ओलीले सहकार्यका लागि प्रस्ताव गरेको बुझिएको छ ।
कर्णाली प्रदेशमा देखिएको नेकपाको विवादले केन्द्रमा बल्लबल्ल बनेको सहमति समेत भांडीएको छ । यस्तो अवस्थामा प्रचण्ड-नेपाल गठबन्धनका कारण प्रधानमन्त्री ओली कमजोर बनेका छन् भने कर्णालीकै कारण अन्य प्रदेशमा समेत गम्भीर संकट देखिने संकेत देखिएको छ ।
पार्टीभित्र देखिएको पछिल्लो विवादकै कारण दुई अध्यक्षबीच ९ दिनदेखि संवादहिनताको अवस्था देखिएको छ । स्रोतका अनुसार कात्तिक ३ गतेयता दुई अध्यक्षबीच भेट भएको छैन । कतिपयले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सम्बन्ध निकै बिग्रिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेता नेपालसंग सहकार्यका लागि विभिन्न प्रस्ताव गर्दै आइरहेका छन् । पछिल्लो सातामात्रै ओली र नेपालबीच २ पटक लामो छलफल भएको छ ।