प्रहरी कर्तव्यबाट च्यूत भएको भन्दै नेकपाका ३७ केन्द्रीय सदस्यले मागे न्याय
वीरगन्ज- पूर्वमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवसहित पार्टीका ३७ केन्द्रीय सदस्यले पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्या भएको भन्दै यथाशीघ्र जाहेरी दर्ता गर्न माग गरेका छन् ।
गत बिहीबार विन्दवासिनी–५ प्रसौनीमा गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रमस्थलमा नेकपाकै दुई समूहबीच झडप हुँदा घाइते चौरसियाको उपचारक्रममा शुक्रबार मृत्यु भएको थियो । मृत्यु भएको ६ दिन बितिसक्दा पनि प्रहरीले कर्तव्य ज्यानको जाहेरी दर्ता गर्न मानेको छैन ।
स्थायी कमिटी सदस्य यादव, केन्द्रीय कमिटी सदस्य एवं प्रदेश सहइन्चार्ज विश्वनाथ साह, नागेन्द्र चौधरी, महेन्द्र पासवान, रामचन्द्र झालगायत ३७ जना केन्द्रीय सदस्यले चौरसियाको हत्याबारे गम्भीर ध्यानाकर्षण भएको बुधबार प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । ‘घटनाको प्रकृति हेर्दा सुनियोजित देखिन्छ, हत्या गर्ने उद्देश्यसहित आक्रमण भएको प्रमाणित हुन्छ । घटनाको जति भर्त्सना गरे पनि कमै हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यस घटनाका सम्पूर्ण दोषीलाई कडाभन्दा कडा कारवाही गरिनुपर्छ ।’
पीडितको जाहेरी जिल्ला प्रहरी कार्यालय पर्साले बुधबारसम्म दर्ता गरेको छैन । ‘जाहेरी दर्तासमेत नगरेर प्रहरीले कानुनी राज्यको खिल्ली उडाएको देखिन्छ । प्रहरी आफ्नो कर्तव्यबाट च्यूत भएको छ । झन् जिल्ला प्रहरी प्रमुखबाट अमूक व्यक्तिको नाम राख र अमूक व्यक्तिको हटाऊ भन्नुले अपराधलाई प्रश्रय दिएको देखिन्छ,’ नेताहरुद्वारा जारी विज्ञप्तिमा छ ।
पीडितको जाहेरी यथाशीघ्र दर्ता गरी हत्यारालाई कारवाही, मृतकलाई सहिद घोषणा, परिवारलाई राहत, घाइतेहरुको नि:शुल्क उपचार र कर्तव्यच्यूत भएका जिल्ला प्रहरी प्रमुखलाई उचित कारवाहीको माग गरिएको छ ।