‘रअ’ प्रमुखसँगको भेट झनै रहस्यमय बन्दै - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

‘रअ’ प्रमुखसँगको भेट झनै रहस्यमय बन्दै



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको उपलक्ष्यमा देशवासीका नाममा शुक्रबार सम्बोधन गरे । धेरैलाई आशा थियो बाहिर निकै चर्चामा रहेको भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसंगको भेटबारे केहि बोल्लान भन्ने तर त्यस्तो केहि बोलेनन् ।

बुधबार मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटबारे सबैलाई चासो भएको बेला मौन बस्दा झनै रहस्यमय बनेको छ ।

दुनियाकै बदनाम भएको भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखसंगको भेटबारे आफ्नै पार्टीदेखि जनस्तरसम्म विरोध र चर्चा भएका बेला आएको प्रधानमन्त्री ओलीको सम्वोधन झनै खल्लो बनेको छ । प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधन मूलतः दसैँ र कोभिड– १९ को रोकथाम र उपचारमा केन्द्रित गरे ।

विपक्षी कांग्रेसले ‘रअ’ प्रमुखसँगको भेटमा भएका कुराकानीबारे प्रधानमन्त्री ओलीले देशलाई बताउनुपर्ने माग गरेको छ । तर, बुधबार राति तीन घन्टा भएको भेटबारे प्रधानमन्त्री ओलीले सम्बोधनमा केही उल्लेख गरेनन् ।

‘रअ’का मुखिया गोयलले बुधबार राति ९ :१५ देखि मध्यराति १२ :१० सम्म बालुवाटारमै प्रधानमन्त्री ओलीसँग भेटेका थिए । राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक प्रधानमन्त्री ओलीले गुप्तचर प्रमुखसँग गरेको भेटले उनको चर्को आलोचना मात्र होइन ब्यापक विरोध पनि भएको छ ।

‘रअ’का प्रमुख सामन्तकुमार गोयलको टोली बुधबार नेपाल आएको थियो । भेट सकेर टोली बिहीबार बिहान दिल्ली फर्केको थियो । यसैबीच प्रधानमन्त्री र ‘रअ’ प्रमुखको भेटबारे असन्तुष्ट तीन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालले आफुहरुको ‘रअ’का प्रमुख गोयलसँग भेटवार्ता नभएको स्पष्ट पारिसकेका छन् ।

प्रचण्ड र नेपालको सचिवालयले प्रेस नोट तथा देउवाको सचिवालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएर ‘रअ’ प्रमुखसँग भेटवार्ता नभएको बताएका थिए ।