'रअ' प्रमुखसँग भेटेलगत्तै प्रधानमन्त्रीद्वारा पुरानै नक्सा प्रयोग - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

‘रअ’ प्रमुखसँग भेटेलगत्तै प्रधानमन्त्रीद्वारा पुरानै नक्सा प्रयोग



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्सा प्रयोग गरेका छन्।

सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्रीले लिम्पियाधुरा नसमेटिएको नक्सा प्रयोग गरेका हुन् ।

भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट भएको पर्सिपल्ट आएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा पुरानै नक्सा प्रयोग हुनुलाई अनेक कोणबाट विश्लेषण गर्न थालिएको छ।

शुक्रबार बिहान ९:२३ मा प्रधानमन्त्रीको निजी ट्विटर खाताबाट शुभकामना जारी भएको थियो। उनले अंग्रेजी भाषामा पनि शुभकामना दिएका छन्। उक्त सन्देशको नक्सामा त्रुटि रहेको धेरैले औंल्याएको भए पनि सच्याइएको छैन। यसले थप सन्देह पैदा गरेको छ।

प्रधानमन्त्रीले दसैँको शुभकामना दिनका लागि प्रयोग भएको तस्बिरमा नेपालको निशान छाप अंकित गरिएको छ तर उक्त छापमा रहेकाे नेपालको नक्सामा हालै संविधान संशोधन गरेर समेटिएको लिम्पियाधुरासहितको भूभाग समेटिएको पाइएको छैन ।

प्रधानमन्त्रीले नै लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा प्रयोग गरेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले गम्भीर विमति प्रकट गरेको छ ।

कांग्रेसले देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेको छ।

‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौँ सम्माननीय प्रधानमन्त्री ज्यू’, प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा लेखेका छन्, ‘गम्भीर विमती दर्ज होस् ।’

उनले अघि लेखेका छन्, ‘देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन?