टिमले सात पटक हार्दा धोनीले बनाए ३ नयाँ किर्तिमान - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

टिमले सात पटक हार्दा धोनीले बनाए ३ नयाँ किर्तिमान



काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा कप्तान महेन्द्र सिंह धोनीले तीन वटा रकेर्ड बनाएको खेलमा चेन्नाई सुपर किङ्स राजस्थान रोयल्ससँग सात विकेटले पराजित भएको छ।

चालु सिजन चेन्नाईको यो सातौँ हार हो।

हिजो धोनीका लागि आईपीएलको २००औँ खेल थियो। उनी आईपीएलमा २०० खेल खेल्ने पहिलो खेलाडी बने। त्यस्तै उनले चेन्नाईका लागि चार हजार रन पनि पूरा गरे।

उनले सञ्जु सैमसनको क्याच लिएर आईपीएलमा १५० औँ क्याच लिने पहिलो खेलाडी पनि बने।

तर, उनले आफ्नो टीमलाई भने जिताउन सकेनन्। टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले गतिलो प्रदर्शन देखाउन सकेन। उसले २० ओभरमा पाँच विकेट गुमाई १२५ रन बनायो।

चेन्नाईका लागि राजेन्द्र जडेजाले सर्वाधिक ३५ रन बनाए। कप्तान धोनी २८ बलमा २८ नै रन बनाएर रनआउट भए। १२६ रनको सहज लक्ष्य राजस्थानले १७.३ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको थियो।

२८ रनमै तीन विकेट गुमाएको राजस्थानका लागि जोस बट्लरले धुवाँधार ब्याटिङ गरे। पाचौँ नम्बरमा आएर उनले ४८ बलमै ७० रन बनाए।

उनी क्रिजमा आएपछि कप्तान स्टेभेन स्मिथले अधिकांश स्ट्राइक उनैलाई दिएका थिए।चेन्नाईका लागि दीपक चाहरले दुई विकेट लिए।

चेन्नाईको १० खेलबाट तीन जितसहित ६ अंक छ। चेन्नाई अंकतालिकाको अन्तिममा छ। राजस्थानको १० खेलबाट आठ अंक छ र अंकतालिकाको पाचौँ स्थानमा छ।