सरकारले भन्यो: अब कोरोना परीक्षण र उपचार सरकारले गर्न सक्दैन, आफ्नै खर्चमा गर्नू - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

सरकारले भन्यो: अब कोरोना परीक्षण र उपचार सरकारले गर्न सक्दैन, आफ्नै खर्चमा गर्नू



काठमाडौं – सरकारले आइतबारदेखि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमितबाट उपचार खर्च असुल्ने भएको छ ।

सरकारले अब कोरोना परीक्षण तथा उपचार नगर्ने भएको हो । अब सबैले आफ्नै खर्चमा परीक्षण र उपचार गराउनुपर्ने सरकारले निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमका अनुसार असोज १९को मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।
अहिलेसम्म सरकारले सरकारी अस्पतालहरूमा परीक्षण तथा उपचार निशुल्क गर्दै आएको छ।

उनका अनुसार आर्थिक रुपमा विपन्न, अशक्त्त, असहाय, अपांगता भएका व्यक्त्ति, एकल महिला, जेष्ठ नागरिकको भने लक्षण देखिएमा सरकारले निशुल्क परीक्षण र उपचार गर्नेछ। तर उनीहरुको कोरोना बिमा भएमा सरकारले त्यही बिमाबाट उपचार खर्च लिनेछ।

‘बाँकी सबैले अबदेखि आफ्नै खर्चमा परीक्षण तथा उपचार गराउनुपर्नेछ’ प्रवक्त्ता डा. गौतमले भने ‘यो नियम आजैदेखि सरकारी तथा सबै कोभिड अस्पतालमा लागु हुनेछ।’

त्यस्तै अबदेखि १० दिनमै लक्षण हराएमा संक्रमितलाई डिस्चार्ज गरिनेछ भने उनीहरु थप सात दिन घरमै आइसोलेसन बस्नुपर्नेछ।
अहिलेसम्म सरकारले १४ दिनसम्म अस्पतालमै राखेर उपचार गर्दै आएको थियो।