शिखर धवन र डी भिलियर्स चम्किए: दिल्लीको अगाडी चेन्नई निरिह - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

शिखर धवन र डी भिलियर्स चम्किए: दिल्लीको अगाडी चेन्नई निरिह



एजेन्सी- शिखर धवनको पहिलो शतकमा दिल्ली क्यापिटल्स शनिबार चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) को पुनः शीर्षस्थानमा पुगेको छ। गत वर्षको उपविजेतामाथि विजय हात पारेपछि दिल्लीले ९ खेलमा १४ अंक जोड्दै प्लेअफमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ।

टस जितेर ब्याटिङ गरेको चेन्नईले शारजहाँ क्रिकेट मैदानमा १७९–४ को स्कोर बनाएको थियो। लक्ष्य पछ्याउनेक्रममा दिल्लीलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो। पहिलो बलमा वाइडमा एक रन आउनुका अलावा धवनले १ रनमात्र बनाए। त्यसपछिको दुई बलमा लगातार छक्का र चौथो बलमा २ रन जोड्दै अक्षर पटेलले स्कोर बराबरी बनाए।

पटेलले रवीन्द्र जडेजाको पाँचौं बलमा पनि छक्का प्रहार गर्दै दिल्लीलाई नाटकीय विजय दिलाए । पटेल ५ बलमा २१ रन बनाई अविजित रहे। म्यान अफ द म्याच धवनले ५८ बल खेल्दै १४ चौका र १ छक्का प्रहार गरे। कप्तान श्रेयस ऐर २३ र मार्कस स्टोइनिस २४ रनमा आउट भएका थिए। यसअघि चेन्नईबाट फाफ डु प्लेसिसले ५८, शेन वाटसनले ३६ रन बनाएका थिए। अम्बाती रायडु २५ बलमा १ चौका र ४ छक्कासहित ४५ र जडेजा १३ बलमा ४ छक्का प्रहार गरी ३३ रनमा अविजित रहे।

बेंग्लोरको जितमा डी भिलियर्स चम्किए

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सले फेरि एकपल्ट आक्रामक ब्याटिङ गर्दै इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई राजस्थान रोयल्समाथि ७ विकेटको जित दिलाएका छन्। शनिबार पाएको यो जित बेंग्लोरको छैटौं हो। टोली १२ अंकसहित तेस्रो स्थानमा रह्यो।

डी भिलियर्सले २२ बल सामना गरेर एक चौका र ६ छक्का प्रहार गरे। त्यसको मदतमा बेंग्लोरले १९.४ ओभरमा ३ विकेट गुमाएर १ सय ७९ रन बनायो। जितपछि कप्तान विराट कोहलीको बेंग्लोरको प्लेअफका लागि छनोट हुने सम्भावना बलियो भएको छ।

कप्तान कोहली आफैं पनि ३२ बलमा ४३ रनको योगदान दिन सफल रहे। राजस्थानले भने टस जितेर पहिले ब्याटिङ गरेको थियो। यसक्रममा २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो। कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रन बनाए। उनले ३६ बल खेल्दै ६ चौका र एक छक्का प्रहार गरे।

प्रारम्भिक ब्याट्सम्यानको भूमिका ओर्लेका अनुभवी रोबिन उथप्पाले २२ बलमा ४१ रन बनाए। बेंग्लोरका क्रिस मोरिस सर्वाधिक सफल बलर रहे। उनले २६ रन खर्चेर ४ विकेट लिए। युजभेन्द्र चाहलले २ विकेट लिए। राजस्थानको योछैटौं हार हो। टोली तीन जितबाट ६ अंक बनाउँदै अंकतालिकामा पुछारबाट दोस्रोमा छ।