प्रचण्डले भने: अविस्वास प्रस्तावले एकतामै समस्या आउन सक्छ - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

प्रचण्डले भने: अविस्वास प्रस्तावले एकतामै समस्या आउन सक्छ



काठमाडौँ– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीमाथि दर्ता गरिएको अविस्वास प्रस्तावले नेपाल कम्युनिष्ट पार्टी नेकपामा समस्या उत्पन्न भएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यहि बिषयमा सोमबार बिहान झण्डै सवा घण्टा छलफल भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै सांसदहरुले राखेको अविश्वासको प्रस्तावका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

छलफलमा अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठीक नभएको भन्दै अर्का अध्यक्ष ओलीलाई उक्त अविश्वास प्रस्ताव फिर्ता गराउन आग्रह गरेको बताइएको छ ।

अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीसँग कर्णाली प्रदेशमा देखिएको अहिलेको अवस्था समाधान नगरे यस्तै गतिविधी अन्य प्रदेशमा पनि देखिने र यसले एकतामा आँच पुग्ने बताएका थिए ।

प्रचण्डले यो विषयमा गम्भीर नभए पार्टी एकतामै ठूलो चुनौती आउने औल्याएको बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि सोमबार बिहानै दाहालले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग आफ्नै निवास खुमलटारमा छलफल गरेका थिए । मुख्यमन्त्री शाहीविरुद्ध राखिएको अविश्वास प्रस्तावमा नेपाल निकट सांसदहरुले पनि हस्ताक्षर गरेका छन् ।

कर्णाली प्रदेश नेकपामा सांसदहरुले मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन प्रस्ताप पेस गरेपछि राष्ट्रिय राजनीतिमा तरंग उत्पन्न भएको छ ।

देशमा नेकपाको कुल ३३ सिट रहेको छ । अविश्वास प्रस्तावमा नेकपाका कुल ३३ सांसद मध्ये १८ जनाले हस्ताक्षर गरेका छन् ।