सबै खरको छानो हटाइने, सरकारको नयाँ योजना यस्तो छ - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

सबै खरको छानो हटाइने, सरकारको नयाँ योजना यस्तो छ



काठमाडौं- सरकारले गरिब तथा विपन्नलक्षित ‘खरको छानोमुक्त अभियान’ थालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाअनुरूप सहरी विकास मन्त्रालयले ‘खरको छानोमुक्त अभियान’ सञ्चालनमा ल्याएको खबर आजको राजधानी दैनिकले छापेको छ।

विपन्नका लागि ल्याइएको अभियानअन्तर्गत सरकारले विपन्नका घर खरमुक्त गरी टिनको छानो बनाइदिनेछ। चालु आर्थिक वर्ष २०७७(७८ मा सातै प्रदेशका गरी १ लाख ४३ हजार २ सय १८ घरधुरी खरमुक्त बनाउने लक्ष्य छ।

त्यसअनुसार खरको धुरीमुक्त अभियान तीव्रतासाथ अघि बढाइएको प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिए । उनका अनुसार खर हटाएर टिनको धुरी बनाइनेछ।

चालु आर्थिक वर्षमा १ लाख ४३ हजार २ सय १८ घरपरिवारलाई खरमुक्त गर्न कुल ७ अर्ब १६ करोड ९ लाख बजेट विनियोजन गरिएको छ। विकास व्यवस्थापनविज्ञ थपलियाले खरको छानोमा बस्दै आएका नागरिकलाई टिन किन्न प्रतिपरिवार ५० हजार उपलब्ध गराइने जानकारी दिए।