मध्यरातमा सुरू भयो डा. केसी र सरकारी वार्ता टोलीबीच वार्ता
काठमाडौँ– अनशनरत डा. गोविन्द केसी र सरकारको वार्ता टोलीबीच शुक्रबार राति ९ बजेदेखि शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ।
दुवै पक्षबीच बिहीबार करिब १० घण्टा वार्ता भए पनि निष्कर्षविहीन टुंगिएको थियो । दुवै पक्षले सहमतिका लागि ड्राफ्ट तयार गरेको थिए ।
डा. केसी पक्षका वार्ता टोली सदस्य डा लोचन कार्कीका अनुसार बिहीबारको वार्तामा सहमतिका लागि तयार भएको मस्यौदामाथि छलफल भइरहेको छ । शुक्रबार बिहानै वार्ता बस्ने भनिएपनि बेलुका ९ बजे मात्र वार्ता सुरु भएको हो ।
चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राख्दै डा. केसी २६ दिनदेखि शिक्षण अस्पतालमा अनशनरत छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरूको भनाइ छ ।
शुक्रबार डा. केसीका समर्थकले सरकार वार्तामा नआए आन्दोलत चर्काउने चेतावनी दिएका थिए। यस्तै, सरकारका तर्फबाट शिक्षासचिव गोपी मैनाली र डा. केसीका तर्फबाट डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार अबेरसम्म वार्तामा बसेका थिए।