दिल्ली र राजस्थान भिड्दै: दिल्लीलाई दुई अंक थप्ने अवसर
एजेन्सी– नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शारजाहमा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को आजको खेलमा दिल्ली क्यापिटल्सले जित निकाल्दै अंक तालिकाकोशीर्षस्थानमा उक्लिने अवसर छ ।
दिल्लीले आज राजस्थान रोयल्ससँग खेल्दै छ । राजस्थान र दिल्लीबीचको खेल रोमान्चक हुने आंकलन गरिएको छ । दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ ।
मुम्बई इन्डियन्स ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकनै भएपनि नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । यता राजस्थानले भने ५ खेलमा ३ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । आजको खेलमा दिल्ली विजयी हुन सके १० अंकका साथ शीर्ष स्थानमा उक्लिने छ ।
राजस्थान र दिल्लीबीच प्रतिस्पर्धा हुने शारजाहको बाउन्ड्री छोटो छ । जारी सिजनमा शारजाहमा भएका चार खेल मध्य ७ इनिङमा २ सय माथिको योगफल बनेको छ । दिल्लीले शारजाहमा कोलकाता नाइट राइडर्सबिरुद्ध २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो ।
यता राजस्थानले शारजाहमा किंग्स इलेभेन पन्जाबले प्रस्तुत गरेको सय २४ रनको लक्ष्य तीन बल आगडि ६ विकेटको क्षतिमा पूरा गरेको थियो । त्यसअघि शारजाहमै राजस्थानले चेन्नईबिरुद्ध ७ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो ।
राजस्थान भन्दा दिल्ली बलियो देखिन्छ । दिल्लीका ओपनर पृथ्वी शा र कप्तान श्रेयस ऐर राम्रो लयमा छन् । यी दुई ब्याट्सम्यान शारजाहमा पुन नायक बन्न सक्छन् । शिखर धवनले पनि राम्रो सुरुवात दिदै आएका छन् । तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै आएका मार्कस स्टोइनिसको लयले गर्दा दिल्ली झनै बलियो बनेको छ ।
ऋषभ पन्त र शिम्रन हेटमायर मध्यक्रममा आक्रामक ब्याटिङ गर्दै ठूलो इनिङका साथ खेललाई मोड्न सक्छन् । दिल्लीको प्रमुख हतियार तीव्र गतिका बलर कागिसो रबाडा हुन् । रबाडाले जारी सिजनमा ५ खेलमा १२ विकेट लिई सकेका छन् । रबाडाले पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरबिरुद्ध ४ विकेट लिदै सहज जित दिलाएका थिए । रबाडालाई दक्षिण अफ्रिकी अर्का तीव्र गतिका बलर एनरिच नोर्टजेले राम्रो साथ दिएका छन् । उनले ७ विकेट लिएका छन् ।
पछिल्लो दुई खेलमा बेंगलोरबिरुद्ध २ र कोलकाताबिरुद्ध ३ विकेट लिएका थिए । यी दुई तीव्र गतिका बलर दिल्लीका प्रमुख हतियार हुन् । बेंगलोरबिरुद्ध प्रमुख दुई विकेट लिदै ‘म्यान अफ द म्याच’ चुनिएका स्पिनर अक्षर पटेल र रविचन्द्रन आश्विनले स्पिनर जोडिमा निरन्तरता पाउने छन् ।
यता सुरुवाती पाँच खेलमा बेन्चमा बसेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आजको खेलमा पनि सम्भावना देखिदैन । चार विदेशी खेलाडीको उच्च प्रर्दशन, दुबै भारतीय स्पिनरको राम्रो लय र टोली सन्तुलको कारण सन्दीप दिल्लीको रणनीतिमा देखिदैनन् । दिल्लीले आजको खेलमा खेलाडी परिवर्तन गर्ने सम्भावना पनि देखिँदैन ।
यता राजस्थान पछिल्ला तीन खेलमा लगातार पराजित भएको छ । राजस्थान आफ्नो हारको सिलसिला दिल्लीबिरुद्ध रोक्न चाहान्छ । मुम्बईबिरुद्ध उत्कृष्ट ७० रन जोडेका ओपनर तथा विकेटकिपर जस बटलर त्यसलाई निरन्तरता दिन खोज्ने छन् । उनलाई स्टिभ स्मिथ र सन्जु स्यामसनले राम्रो साथ दिन आवश्यक छ ।
शीर्षक्रममा निर्भर राजस्थानका स्मिथ, स्यामसन र बटलरले उत्कृष्ट प्रर्दशन गर्न आवश्यक छ । पन्जाब र चेन्नईबिरुद्ध लगातार अर्ध शतक बनाएपनि पछिल्लो तीन खेलमा स्मिथले दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । टोलीको प्रमुख ब्याट्सम्यान र कप्तानको नाताले पनि उनलाई ठूलो इनिङ खेल्न आवश्यक छ । त्यस्तै सुरुवाती दुई खेलमा उत्कृष्ट ब्याटिङका साथ ‘म्यान अफ द म्याच’ चुनिएका सन्जु स्यामसन पछिल्ला तीन खेलमा दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । स्यामसनलाई पनि ठूलो इनिङ खेल्न आवश्यक छ ।
आजको खेलमा अलराउन्डर टम करनको स्थानमा डेभिड मिलरलाई खेलाउन सक्छ । मैदान छोटो हुदा मिलर त्यसको फाइदा उठाउँदै ठूलो इनिङ खेल्न सक्छन् । जोफ्रा आर्चर बलिङ हतियार हुन् । उनलाई अन्य तीव्र गतिका बलरले राम्रो साथ दिन आवश्यक देखिन्छ । अंकित राजपुतको स्थानमा जयदेव उनादकटलाई खेलाउन सक्छ ।
आइपिएलमा यी दुई टोलीबीच हालसम्म कुल २० खेल भएको छ । जसमा दिल्ली ९ खेलमा विजयी हुँदा ११ खेलमा पराजित हुन पुगेको छ । दिल्लीले राजस्थानबिरुद्ध हालसम्म बनाएको उच्च योगफल १ सय ९६ छ । सबैभन्दा कम योगफल ६० रन छ । राजस्थानले दिल्लीबिरुद्ध बनाएको उच्च योगफल २ सय १ र कम १ सय १५ रन छ । गतवर्ष दिल्ली दुबै खेलमा विजयी भएको थियो ।