कुलमान हिँडेपछि प्राधिकरणको बेहाल: अघोषित लोडसेडिङ सुरू - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

कुलमान हिँडेपछि प्राधिकरणको बेहाल: अघोषित लोडसेडिङ सुरू



काठमाडौं- नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक रहेका कुलमान घिसिङ विदाभएसंगै विद्युत कटौती ब्यापक हुन थालेको गुनासो जनस्तरबाट आउन थालेको छ ।

व्यापक जनगुनासो आउन थालेपछि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन पनि तनावमा परेका छन्। केहिदि अगाडी पुनको सचिवालये विना जानकारी विद्युत कटौती भए सिधा सम्पर्क गर्न आह्वान समेत गर्‍यो । तर, पनि विद्युत कटौतीको क्रम रोकिएको छैन । त्यो क्रम झनै बढेको बताइन्छ।

अहिले भने प्राधिकरणले सूचना दिएरै विद्युत कटौती गर्न थालेको छ । विभिन्न स्थानमा मर्मत सम्भार तथा पोल स्थानान्तरण लगायतका कारणले विद्युत कटौती गर्न परेको प्राधिकरणले जनाएको छ । तर कतिपय स्थानमा मर्मतको लागि काटिएको जानकारी दीइए पनि मर्मत भने गरिएको छैन ।

नेपाल विद्युत् प्रधिकरणका अनुसार आज शनिबार पनि देशका विभिन्न स्थानमा विद्युत कटौती भइसकेको छ । कतै हुने क्रममा छ । प्राधिकरणका अनुसार आज धनकुटा, चितवन, नवलपुर, पोखरा र काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत हुने छैन ।

ललितपुरको लगनखेल र पुल्चोक वितरण केन्द्र तथा भैंसेपाटी उपवितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा इन्टरब्रान्चको मिटरिङ युनिट परिवर्तन गर्नु पर्ने भएकाले दिउँसो ११ बजेदेखि २ बजेसम्म बत्ती काटिने जनाइएको छ ।

यस्तै बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने विष्णुमति फिडरमा चक्रपथ विस्तार कार्य जारी रहेकाले १० बजेदेखि ३ बजेसम्म बत्ती काटिने बताइएको छ । यस्तै वाइपास विद्युत् संरचना सार्न तथा व्यवस्थापन गर्न चितवनको भरतपुर र माडीमा बिहान ७ बजेदेखि नै विद्युत कटौती गरिएको दिउँसो १ बजेसम्म बत्ती नआउने प्राधिकरणले जनाएको छ ।

चितवनकै मेघौली, नारायणगढ, गीतानगर तथा रामपुरमा बुस कटिङ गर्न ट्रान्सफर्मरको इन्कमिङ भीसीबी परिवर्तन गर्न सोही समयमा बत्ति काटिने बताइएको छ । चितवनको अन्य केही स्थानमा पोल सार्न र फिडर मर्मत गर्न बत्ती काटिने छ ।

नवलपुरको कावासोती र अरूणखोलामा पनि बुस कटिङ गर्न बिहान ८ बजेदेखि विद्युत कटौती भएको छ । त्यस क्षेत्रको विद्युत दिउँसो ४ बजेपछि सुचारू हुने जनाइएको छ ।

पोखराको हेम्जामा स्मार्ट मिटर परिवर्तन गर्न १० बजेदेखि ५ बजेसम्म र धरानदेखि धनकुटासम्म बुस कटिङ गर्न शनिबार १० बजेदेखि ५ बजेसम्म विद्युत कटौती गरिने प्राधिकरणले जनाएको छ ।

तर, प्राधिकरणले एकैदिन यति धेरै स्थानको विद्युत काट्नुले शंकाको बिउ भने जमाएको छ । या त प्राधिकरणले यसलाई ब्यबस्थापन गर्न सकेको छैन या त अघोषित लोडसेडिङ गरिरहेको छ ।