उपत्यका लगायतका केहि सहरमा फेरि लकडाउन गर्ने तयारी
काठमाडौं- नेपालमा संक्रमण बढ्दै जाँदा दशैं नजिकै फेरि लकडाउन गर्नेबारे परामर्श थालिएको छ । यसअघि संक्रमितको संख्या २५ हजार नाघेमा नेपालमा फेरि लकडाउन गर्ने स्वास्थ्यमन्त्रालयले जनाएको थियो ।
दिनहुँ संक्रमित बढ्दै गएको भन्दै सरकार र उपत्यकाका प्रमुख जिल्ला अधिकारीले यसबारे छलफल अगाडी बढाएको स्रोतले दाबी गरेको छ ।
सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको र चाडवाड नजिकिएकाले झनै भयावहको अवस्था आउन सक्ने आंकलन गर्दै यस्तो तयारी गरिएको स्रोत बताउँछ ।
हाल सक्रिय संक्रमितको संख्या २१ हजार बढी पुगेको छ । २५ हजार भन्दा बढी कोरोना संक्रमित भए आवश्यक पुर्वाधारले धान्न नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका थिए ।
यहि अनुपातमा संक्रमित बढ्ने हो भने केहिदिनमै सक्रिय संक्रमित २५ हजार नाघ्ने पक्का छ । त्यसमाथि परिक्षण बढाउने हो भने एकैदिनमा पनि त्यो संख्या नाघ्ने जनस्वास्थ्य विज्ञहरूले बताउँछन् ।
दशैंमा उपत्यका छोडेर गाउँ जानेको संख्या बढी हुने भएकाले संक्रमण जहाँतही फैलिने भएकाले पुन लकडाउन गर्नुपर्ने स्वास्थ्यकर्मीले पनि बताएका छन् ।
उपत्यका लगायतका भिडभाड हुने शहरमा अहिलेपनि सर्वसाधारणहरूले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, मास्क नलगाएको र सावधानी नअपनाएको गुनासो दिनहुँ आउने गरेको छ । त्यसमाथि सार्वजनिक सवारीमा पनि भिडभाड भएको व्यापक गुनासो आइरहेको स्वास्थ्य मन्त्रालयका कर्मचारीले बताउने गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले पनि यसबारे ब्यापक परामर्श र तयारी गरिरहेको बताइन्छ ।