सभापति देउवाको पक्षमा खुलेरै लागिन सुजाता कोइराला - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

सभापति देउवाको पक्षमा खुलेरै लागिन सुजाता कोइराला



काठमाडौं- पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला पार्टी सभापति शेरबहादुर देउवाको बचाउमा खुलेरै लागेकी छन् । कोइरालाले रामचन्द्र पौडेल समूहको नाममा पार्टी सभापतिविरुद्ध दर्ता गराइएको विरोधपत्र कांग्रेस सिध्याउने खेल भएको आरोप समेत लगाएकी छन् ।

कोइरालाले प्राइम टेलिभिजनको अन्तर्वार्तामा पौडेल समूहका नाममा विरोध पत्रमा आफुले असहमति छ भन्दाभन्दै हस्ताक्षर समावेश गराएको पनि बताइन। ‘जीवन परियारजी आएर ल हस्ताक्षर गर्नुपर्यो भन्नुभयो। मैले गरे, तर एकघन्टाभित्रै मैले वहाँलाई फोन गरेर मेरो असहमति नै भनेकी हुँ,’ कोइरालाले भनिन्।

उनले कम्युनिस्ट सरकारसँग जुध्नु पर्ने वेलामा आफ्नै पार्टीभित्र विग्रह ल्याउनेगरी पौडेलले पार्टी कार्यालयमा दर्ता गरेको असहमतिपत्रप्रति कोइरालाले आफ्नो गम्भीर असहमति रहेको बताएकी छन्।

कोइरालाले कांग्रेसभित्र आपसमै लडाइ गरे पार्टीको अस्तित्व नै समाप्त हुने बताउँदै गुटका नाममा रामचन्द्र पौडेलले गरिरहेका क्रियाकलाप आफुलाई मान्य नभएको पनि बताइन। ‘सबै दोष सभापति शेरबहादुर देउवालाई मात्रै दिएर हुदैन, दोष सबैको छ,’ उनले भनिन्, ‘शेरबहादुरजीले त आफ्ना सबै साथीहरुलाई एकजुट बनाएर राख्नुभएको छ। तर, हामीहरुको तिर त गुटैगुटमात्र छन्। त्यसभित्र पनि कसले कसलाई सिध्याउने भन्ने छ। त्यसैले म त बैठकहरुमा जान पनि छोडिसकेको छु।’

नेतृ कोइरालाले पार्टी सभापतिले गठन गरेको विभागलाई बहिष्कार गर्नु पनि पौडेललगायतका नेताहरुको गम्भीर गल्ति भएको बताइन। ‘पार्टीको विभाग ढिला गठन भएपनि त्यसले पार्टीका साथीहरुको मनोवल बढाएको छ र संगठनमा लाग्न सजिलो भएको छ,’ उनले भनिन्, ‘ढिलो बन्यो भनेर विभाग गठनप्रति नै असहमति जनाउनु उपयुक्त होइन।’

उनले पार्टी सभापतिको मात्रै कमजोरी देखाएर पार्टी कमजोर बनाउने खेलमा नेताहरु लागेको पनि बताएन। कांग्रेस महाधिवशन फागुनमा गर्न अब सम्भव नभएको बताउँदै कम्तिमा तीन महिना सार्नु उपयुक्त हुने उनको भनाइ थियो।

‘शेरबहादुरजी र रामचन्द्रजी दुबै समूहमा राम्रा साथीहरु पनि छन्। दुबैलाई मिलायो भनेमात्र कांग्रेस बलियो हुन्छ,’ कोइरालाले भनिन्, ‘होटल र रेस्टुरेन्टमा बसेर सिक्नेचर क्याम्पेनिङ गर्ने भन्दा पनि पार्टी अफिसमै बसेर सभापतिलाई पनि राखेर छलफल गर्नुपर्छ।’

उनले पार्टीभित्र विवादको विउ रोप्ने योजना भएको भन्दै त्यसबाट सबै नेताहरु सुरक्षित हुनुपर्ने पनि बताईन। ‘कांग्रेसभित्र धेरै ठुलो विवादको विउ रोप्ने कोशिल हुदै छ। रामचन्द्रजीको क्रियाकलापबाट म खुशी छैन। पार्टी सभापतिको चुनाव लड्न गुटबन्दीका लागि वहाँले जे पनि गर्नुभएको छ,’ नेतृ कोइरालाले भभिन्, ‘तपाई नेकपासँग लड्ने कि आफ्नै पार्टीभित्र लडेर समाप्त हुने?’

रामचन्द्र पौडेलले पटक पटक अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसकेकोे उनको आरोप थियो। ‘रामचन्द्रजीले केहि पाइन भन्ने हो भने मैले किन नभन्ने? वहाँलाई पटकपटक अवसर दिएको हो। पटकपटक पदाधिकारी हुनुभयो। गत महाधिबेशनमा सभापति लड्नुभयो। प्रधानमन्त्रीका लागि १६ पटकसम्म लड्दा पनि जित्नुभएन। फेरी हार्नुभयो। पार्टीले त उहाँलाई धेरै दियो,’ कोइरालाले भनिन्।

उनले काग्रेसलाई एकजुट बनाउन सक्षम व्यक्ति आउनुपर्ने बताइन्। युवा मात्रै भनेर नहुने उनको भनाइ थियो।