स्टार अस्पतालले पीसीआरबाट मात्र १ करोड बढी ठग्यो - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

स्टार अस्पतालले पीसीआरबाट मात्र १ करोड बढी ठग्यो



कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने आरटी–पिसिआर परीक्षणका लागि काठमाडौंको स्टार अस्पतालले सरकारले तोकेकोभन्दा झन्डै दोब्बर शुल्क लिइरहेको पाइएको छ।

सरकारले शुल्क घटाएयताको १३ दिनमा मात्रै स्टारले एक करोड २८ लाखभन्दा बढी शुल्क असुल गरेको छ।

सरकारले २८ भदौमा पिसिआर परीक्षणको शुल्क चार हजार पाँच सयबाट घटाएर दुई हजार कायम गरेको छ।

कुनै पनि अस्पतालले योभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो।

तर, स्टार अस्पतालले भने स्वास्थ्य मन्त्रालयकै संरक्षणमा सरकारले तोकेकोभन्दा झन्डै दोब्बर शुल्क असुलेको पाइएको छ। स्टारले प्रतिनमुना तीन हजार आठ सय ९९ रुपैयाँ लिएको बिल फेला पारेको छ।

यो सरकारले तोकेको मूल्यभन्दा एक हजार आठ सय ९९ रुपैयाँ बढी हो।

सरकारले दुई हजार शुल्क तोकेको १३ दिनको भएको छ। यो अवधिमा मात्रै स्टारले ६ हजार सात सय ८० वटा नमुना परीक्षण गरेको स्वास्थ्य मन्त्रालयलाई बुझाएको रिपोर्टमा देखिन्छ। सरकारले तोकेको शुल्कमा परीक्षण गर्दा एक करोड ३५ लाख ६० हजार रुपैयाँ हुन्छ। तर, स्टार अस्पतालले एक करोड २८ लाख ७५ हजार दुई सय २० रुपैयाँ बढी असुलेको खबर आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखेका छन।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार स्टार अस्पतालले प्रत्येक दिन चार सयभन्दा बढी नमुना परीक्षण गरिरहेको छ । यो १३ दिनमा सरकारले तोकेकै शुल्क परीक्षण गर्दा पनि स्टार अस्पताललाई प्रतिनमुना पाँच सयका दरले ३३ लाख ९० हजार रुपैयाँ फाइदा हुने प्रयोगशाला विज्ञहरू बताउँछन् । तर, स्टार अस्पतालले सरकारले तोकेभन्दा एक हजार आठ सय ९९ रुपैयाँ बढी शुल्क लिएर परीक्षण गरिरहेको छ । प्रतिनमुना एक हजार आठ सय ९९ रुपैयाँ बढी लिएर ६ हजार सात सय ८० जनाबाट १३ दिनमा एक करोड २८ लाख ७५ हजार दुई सय २० रुपैयाँ असुलेको छ।

पछिल्लो २४ घन्टामा मात्रै स्टार अस्पतालमा सात सय २१ वटा नमुना परीक्षण गरिएको छ । जसबाट एकैदिनमा सरकारले तोकेभन्दा १३ लाख ६९ हजार एक सय ७९ रुपैयाँ बढी उठाएको छ।

स्टार हस्पिटल कोभिड–१९ प्रयोगशालाका टिम लिडर गोविन्द अकेला सरकारले तोकेको दुई हजार शुल्कमा परीक्षण गर्न नसकिने बताउँछन् । ‘हामीले ५५ सयबाट ४५ सयमा पनि झार्‍यौँ, तर अब दुई हजारमा पिसिआर गर्न सकिँदैन,’ अकेलाले भने। अरू अस्पतालले पनि तीन हजार आठ सय ९९ रुपैयाँमै पिसिआर परीक्षण गरिरहेको उनको भनाइ छ।