ओरालो लागेका कोहलीलाई बलले पनि लखेट्यो: तिरे १९ लाख जरिवाना - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

ओरालो लागेका कोहलीलाई बलले पनि लखेट्यो: तिरे १९ लाख जरिवाना



एजेन्सी – भारतीय क्रिकेट टोली तथा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीलाई ठूलो रकमको जरिवाना लागेको छ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को छैटौं खेलमा विहीबार राती सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबविरुद्ध गल्ती गर्न पुगेपछि कोहलीलाई १२ लाख भारतीय रुपैयाँ (१९ लाख २० हजार नेपाली रुपैयाँ) जरिवाना लगेको छ । पञ्जाबविरुद्ध स्लो ओभर रेट अर्थात बलिङ इनिङ समाप्त गर्न निर्धारित समयभन्दा बढी समय लगाएपछि कोहली कारबाहीमा परेको इएसपीएनक्रिकइन्फोले जनाएको छ ।

बिहिबार राती सम्पन्न खेलमा पन्जाबले बेंगलोरलाई ९७ रनले पराजित गरेको थियो । जितका लागि २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोर १७ ओभरमा १ सय ९ रनमा अल आउट भएको थियो । त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो ।

पन्जाबका ओपनर तथा कप्तान लोकेश राहुलले १ सय ३२ रनको अविजित शतकीय इनिङ खेलेका थिए । उक्त क्रममा कोहलीले राहुललाई ८३ रन र ८९ रनमा क्याच छोड्दै दुई पटक जीवनदान समेत दिएका थिए ।

ब्याटिङमा पनि फ्लप कोहलीको प्रदर्शनलाई लिएर निकै आलोचना भएको थियो । बेंगलोरले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो । तेस्रो खेलमा बेंगलोरले सोमबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।