सर्भर नचल्दा विद्युत महसुल बुझाउन घण्टौ लाइन

विशाल पाण्डेय / कैलाली –
घोडाघोडी नगरपालिका -८ का बाबुराम चौधरी मिटर बक्स लिनको लागि फारामको पैसा बुझाउन नो लाइट सेवा केन्द्र पहलमानपुरको काउन्टरको लाइनमा लागे । करिब डेढ घण्टापछि उनको पालो आयो । पालो आएपनी उनी केहिबेर त्यै लाइनमै उभिन पर्यो । कारण थियो रकम तिर्नको लागि सर्भर नचल्नु ।
करिब एक घण्टा लाइनमा लागेर बल्लतल्ल पालो आयो । चौधरीले भने, ‘पालो आएर पनि के गर्नु नेट नचल्दा फारामको ५० रुपैयाँ तिर्नको लागि यत्रो बेर बस्नु पर्यो । घरमा कतिकाम थियो आजको समय यतै बित्ने भो ।’
घोडाघोडी नगरपालिका-१० का खुशिराम चौधरीको पनि त्यस्तै समस्या छ । उनी पनि विद्युतको महसुल बुझाउन लाइनमा लागे । उनको पनि पालो करिब आधा घण्टा पछि आयो तर समस्या थियो नेट राम्रोसँग नचल्नु । बल्लतल्ल पालो आउँछ त्यै पनि पैसा लिन ढिला गर्छन् । मान्छेले ढिला गरेका हुन कि नेट नचलेर हो । उनले गुनासो गरे ।
घोडाघोडी नगरपालिका-१० आमखोइया कि विपना विश्वकर्मा पनि लामो समयदेखि आफ्नो पालो कुर्दै बसिरहेकी थिइन् । यस्तो कोरोनाको बेलामा बल्लतल्ल आएर पैसा बुझाउन लाइनमा लागेको, त्यै पनि यत्रो टाइम लाग्ने भयो विपनाले भनिन् । यी त उदाहरणका पात्र मात्र हुन् । विधुत प्राधिकरणको अधिकांश महशुल बुझाउने ठाउँमा यस्तो समस्या छ ।
नो लाइट सेवा पहलमानपुरका कम्प्युटर अपरेटर प्रेम चौधरीले सर्भरले काम नगर्दा बिल काट्नको लागि ढिलाइ भएको स्वीकार गरेका छन् । चौधरीले सर्भर नचलेको पटकपटक जानकारी गराउदा पनि सुनुवाइ नहुदा यस्तो समस्या आएको बताए ।

पहिले धनगढी वितरण केन्द्रबाट मोबाईल काउन्टर चलिरहेपनी दुई बर्ष यता भजनी वितरण केन्द्रमा पहलमानपुर वितरण केन्द्र गाभिएको हुँदा भजनिको सर्भरबाट समस्या देखिएको पहलमानपुर नो लाइट सेवाका प्रमुख प्रेम जोशिले बताए । यहाँको एरिया ठूलो हुँदा भजनी केन्द्र अन्तगरगतका आधाभन्दा बढी ग्राहकहरुको पहलमानपुरबाटै कारोबार गरिन्छ । जोशिले भने , “भजनी ,जोशिपुर र पहलमानपुरमा एउटै सर्भर राखिएको छ । भजनीमा नेटको समस्या हुने बित्तिकै यता काउन्टर नै बन्द गर्नुपर्ने अवस्था आउँछ । ग्राहको संख्या बढी भएको हुनाले यहि नयाँ सर्भरको लागि माग गरिरहेका छौं ।”
विद्युत प्राधिकरण भजनी वितरण केन्द्रका प्रमुख प्रतिश ढकालले सर्भरमा समस्या नभइ भिडियन राउटर कनेक्सनमा समस्या आएको बताए । भजनीको कनेक्सन दुई ठाउमा छ । ढकालले भने,” भजनीमा नेट स्लो हुनुका साथै दुरि टाढा हुँदा पनि सर्भरमा समस्या देखिएर पहलमानपुरमा समस्या आएको हुनसक्छ ।”
नयाँ सर्भर आउन समय लाग्ने हुँदा अन्य कुनै शाखाबाट सर्भर तथा नेटको राम्रो व्यवस्थापन गरि समस्याको चाडै नै समाधान गर्ने ढकालले बताए ।

