कारबाहीको डरले मिसावट गरिएको पेट्रोल ट्यांकर त्रिशूलीमा खसालियो - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

कारबाहीको डरले मिसावट गरिएको पेट्रोल ट्यांकर त्रिशूलीमा खसालियो



काठमाडौं- गत आइतबार चालक र सहचालकको मिलेमतोमा पेट्रोल ट्यांकर जानाजान त्रिशूलीमा खसालेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट २० हजार लिटर पेट्रोल लिएर आएको ना४ख २८२२ नम्बरको ट्यांकरमा मट्टीतेल मिसाएको निगममा पूर्वसूचना आएको थियो।

सो ट्यांकर निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटका लागि आउँदै गर्दा कर्मचारीलाई सो सूचना प्राप्त भएको थियो।

ट्यांकर बिहान डिपोमा आएपछि गुणस्तर परीक्षण गरेर मट्टीतेल मिसावट भएको पुष्टि भए चालक र सहचालकलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, ०३२ अनुसार कारबाही गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्ने तयारी निगमको थियो।

किनभने, त्यसको चार दिनअघि पनि ना४ख ७२५६ नम्बरको ट्यांकरको दुईवटा चेम्बरमा रहेको ८ हजार लिटर पेट्रोल परीक्षण गर्दा करिब २ हजार लिटर मट्टीतेल मिसावट भएको भेटिएको थियो। गाडीको इन्जिन नै बिग्रने गरी सस्तो मूल्यको मट्टीतेल मिसाएर आर्थिक लाभ लिन खोज्ने सो ट्यांकरका चालक प्रमेशकुमार श्रेष्ठलाई कारबाही गर्न निगमले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको जिम्मा लगाएको छ। अहिले उनलाई कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको खबर आजको नयाँ पत्रिकामा अजित अधिकारीले लेखेका छन।

तर, डिपो आइपुग्नुअगावै बिहान दुई बजे सो ट्यांकर धादिङको गल्छी नगरपालिका–६, चरौँदीमा खसेर आगलागी भयो । त्रिशूली नदीमा खसेको ट्यांकरमा रहेको २० हजार लिटर पेट्रोलसमेत नष्ट भएको छ । तर, पेट्रोलमा मट्टीतेल मिसाएको निगमले थाहा पाएका कारण कारबाही भोग्नबाट बच्न चालक र सहचालकले जानाजान नदीमा ट्यांकर खसालेको हुन सक्ने निगमका एक कर्मचारीले बताए।

उनी भन्छन्, ‘अघिल्लोपटक मट्टीतेल मिसावटको घटनाका चालकलाई कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढेको थाहा पाएपछि ना४ख २८२२ नम्बरका चालक र सहचालकले जेल जानुभन्दा नदीमा खसाल्नु ठीक भएको ठहर गरेको हुनुपर्छ।’ नदीमा खसेर दुर्घटना भएको ट्यांकरको क्षतिपूर्ति बिमा कम्पनीले दिने भएकाले ट्यांकरधनीलाई पनि खासै नोक्सानी हुँदैन।

मिसावटको आशंका गरिएको ट्यांकर पल्टिएर दुर्घटना भएपछि निगमको थानकोट डिपोले छानबिन गर्न इलाका प्रहरी कार्यालय, गजुरीलाई लिखित पत्राचार गरेको छ। चालक सुदीप बोहरा र सहचालक मनीष नगरकोटीलाई सकुशल अवस्थामा भेटेर गजुरी प्रहरी कार्यालयले अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ।

‘सिंगो ट्यांकर त्रिशूलीमा खसेर नष्ट भएको छ, तर चालक र सहचालकलाई कुनै क्षति भएको छैन । यसले पनि ट्यांकर जानाजान पल्टाएको आशंकामा थप बल पुगेको छ,’ निगमका एक कर्मचारीले भने।

डिपो प्रमुख प्रदीप यादवले पत्राचार गरेको पत्रमा भनिएको छ, ‘ना४ख २८२२ नम्बरको ट्यांकर पल्टेको भन्ने बुझिन आएकाले उक्त ट्यांकर के–कस्ता कारणले पल्टेको हो वा पल्टाइएको हो ? सो कार्यमा को–कसको सहभागिता थियो ? साथै, उक्त ट्यांकरचालकको व्यवहार यसपूर्व पनि शंकास्पद रहेको देखिएकाले सो सम्बन्धमा पनि आवश्यक अनुसन्धान कार्य गरी प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिदिनुहुन अनुरोध छ ।’ चालक बोहराको कार्यशैली विगतदेखि नै शंकास्पदसमेत रहेको कर्मचारीले बताएका छन् ।