चीनमा अर्को महामारी फैलियो: हजारौँ संक्रमित, उपचारका लागि अस्पताल तोकियो - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

चीनमा अर्को महामारी फैलियो: हजारौँ संक्रमित, उपचारका लागि अस्पताल तोकियो



काठमाडौं- चीनमा एक अर्को रोग ब्रुसेलोसिसको प्रकोप सर्लाग्दो गरी फैलिएको छ । गान्सु प्रान्तको राजधानी लान्झोमा तीन हजारभन्दा बढी व्यक्ति यसबाट संक्रमित भइसकेका छन् ।

लान्झोको स्वास्थ्य आयोगकाअनुसार यो रोग संक्रमित जनावरको सम्पर्कमा आउँदा लाग्ने गर्दछ । ब्रुसेलोसिसलाई ‘माल्टा फिभर’ पनि भन्ने गरिन्छ ।

लान्झोस्थित एक औषधि उत्पादन कारखानाबाट सन् २०१९ को जुलाई र अगस्टको बीचमा यो ब्याक्टेरिया (जीवाणु) फैलिएको थियो । जुन कारखानामा ब्रुसेलोसिसविरुद्धको खोप बनाइँदै थियो ।

यसविरुद्ध चीनमा चेतावनी जारी गरिएको छ । ११ ओटा अस्पतालहरु तोकेर त्यहाँ बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिइएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)काअनुसार यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । तर, ब्याक्टेरियायुक्त दूषित खानेकुराबाट ब्रुसेलोसिस फैलिनसक्छ ।

ब्रुसेलोसिस के हो ?
यो ब्याक्टेरियाबाट हुने रोग हो । यो ब्याक्टेरियाले विशेषगरी गाईवस्तु, सुंगुर, भेडा, बाख्रा र कुकुरहरुलाई संक्रमित गर्छ । ती संक्रमित पशुको प्रत्यक्ष सम्पर्कमा आउने मानिस पनि बिरामी हुन्छन् । तिनीहरुको मासु खाँदा वा तिनीहरुले दूषित गरेको पानी पिउँदा मानिसमा संक्रमण फैलिन्छ ।

ब्याक्टेरिया संक्रमित क्षेत्रको हावामा पनि रहनसक्छ । त्यसक्रममा सास लिँदा त्यो शरीरभित्र पसेमा मानिस संक्रमित हुनसक्छन् ।

मानिसले जनावरको दूध नउमाली र त्यस्तो काँचो दूधबाट बनेको चिजलगायतका खानेकुरा खाँदा यो रोगको जोखिम बढी हुने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

लक्षणहरु
ज्वरो, पसिना आउनु, टाउको दुख्नु, मांसपेसीमा दुखाइ, बेचैनी र भोक नलाग्नुजस्ता यो रोगका लक्षण हुन् । कुनै लक्षण लामो समयसम्म देखिनसक्छ । बारम्बार ज्वरो आउने, जोर्नीहरु दुख्ने, अन्डकोष सुन्निने, कलेजोमा समस्यालगायत हुनसक्छ । धेरै थकान हुन्छ ।

असर
गम्भीर अवस्थामा ब्रुसेलोसिसले प्रजनन् प्रणालीलाई स्थायी नोक्सान पुर्‍याउनसक्छ । राम्रोसँग उपचार गरेन भने मानिसमा बाँझोपन हुनसक्छ ।

ब्रुसेलोसिसका कारण हालसम्म कोहीपनि व्यक्तिको मृत्युको घटना भने बाहिर आएको छैन ।

चीनमा कहिले र कसरी फैलियो ?
लान्झोस्थित एक औषधि कारखानामा भएको एक घटनापछि उक्त ब्याक्टेरिया फैलिएको मानिन्छ । त्यहाँ पशुमा लगाउनका लागि ब्रुसेलोसिसविरुद्धको खोप बनाइँदै थियो । सन् २०१९ को जुलाई २४ देखि अगस्ट २० तारिखसम्म सरसफाइको काम भएको थियो । त्यसक्रममा कारखानाले म्याद सकिएको कीटाणुनाशक र स्यानिटाइजरहरु प्रयोग गर्‍यो, जसबाट ब्याक्टेरिया पूर्णरुपमा निर्मूल भएन ।

त्यहाँबाट निस्किएको दूषित ग्यासमा हावाको माध्यमबाट ब्याक्टेरियाहरु फैलियो र मानिसहरु संक्रमित भए ।

यो घटना बाहिर आएपछि सोही वर्षको डिसेम्बर ७ मा कारखानाले खोप उत्पादनको काम पूर्णरुपमा गर्‍यो । त्यस घटनाको लागि जिम्मेवार ठहरिएका आठजनालाई सजाय दिएको बताइयो ।

सन् २०२० को जनवरी १३ मा खोप उत्पादनका लागि उक्त कारखानालाई दिइएको इजाजत पनि रद्द गरियो ।

जोगिने उपाय
त्यस्तो रोग देखिएको अवस्थामा जनावरबाट सकेसम्म टाढा रहनुपर्दछ । जनावरको नजिक जानुपर्दा आवश्यक सावधानी अपनाउनुपर्दछ । मासु खानुअघि विचार पुर्‍याउनुर्छ । दूध र पानी उमालेरमात्र पिउनुपर्छ । घर वरपर कीटाणुनाशक छर्किनुपर्दछ, सफा राख्नुपर्दछ ।