ओली–प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषदको मापदण्ड के बनाउने र कसलाई पठाउने भन्नेबारे करिव सहमति भएको स्रोतले जनाएको छ ।
सोमबार बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलपछि मङ्गलबारको सचिवालय बैठकबाट टुंगो लगाउने सहमति भएको हो ।
मन्त्रिपरिषद् हेरफेर गर्ने गरी प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सोमबार बालुवाटारमा छलफल भएको थियो । उनीहरू सचिवालय बैठकले मापदण्ड बनाएर मन्त्रिपरिषद् पुनर्गठन सहमति भएको स्रोतको दाबी छ ।
“यसबारे भोलिको बैठकमा छलफल हुन्छ, त्यसपछि मात्रै पुनर्गठन होला,” स्रोतले भन्यो ।
बालुवाटार स्रोतले पनि सचिवालय बैठकले निर्णय गरेपछि मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दियो । “सचिवालय बैठकको एजेन्डा नै छ । बैठक चल्दाचल्दै पुनर्गठन हुने भन्ने हुँदैन । बैठक सकिएपछि निर्णयका आधारमा हुने हो,” स्रोतले भन्यो ।
आइतबारको बैठकमा तीन विकल्पमाथि छलफल भएको थियो । पहिलो, सबै मन्त्रीहरू हटाउने । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालको यसमा मत थियो ।
अध्यक्षद्वय ओली प्रचण्डले केही मन्त्री हटाउने, केही मन्त्री राख्नेगरी पुनर्गठन गर्न सकिने बताएका थिए । गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेलले पहिला मापदण्ड बनाएर मात्रै छलफल गर्नुपर्ने धारणा राखेका थिए ।