राप्रपालाई ठुलो पार्टी बनाएरै छाड्ने कमल थापाको घोषणा - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

राप्रपालाई ठुलो पार्टी बनाएरै छाड्ने कमल थापाको घोषणा



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गरी छाड्ने दृढता व्यक्त गरेका छन्।

आइतबार जनवर्गीय सङ्गठनका पदाधिकारी, सदस्यसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने दाबी गरे।

पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न निर्देशन दिँदै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए।

राप्रपाको एकतालाई चाँडोभन्दा चाँडो टुङ्गो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्रथमिकताका साथ अगाडि बढाउने उनको भनाइ छ।

अध्यक्ष थापाले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा भरोशायोग्य शक्ति बनाउने विश्वास दिलाएका छन्। पार्टी एकतालाई जोगाउँदै सिद्धान्त र विचारलाई बलियो बनाउन आफू इमानदारीपूर्वक लाग्ने उनको भनाइ छ।

गलत र त्रुटिपूर्ण मार्गचित्रका कारण देश दिनप्रतिदिन समस्याको दलदलमा फस्दै गएको चर्चा गर्दै अध्यक्ष थापाले धर्म, संस्कृति, पहिचान र स्वभिमान रक्षाको निमित्त नयाँ पुस्ता बढी सचेत हुनुपर्ने बताए।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना सङ्कट, पार्टी एकता र भावी कार्ययोजनाबारे उनले निरन्तर बैठक गर्दै आएका छन्।

जनवर्गीय सङ्गठनका नेताहरुले पार्टीको सिद्धान्त र विचारलाई स्थापित गर्ने गरी साङ्गठानिक गतिविधीलाई तिव्रता दिने प्रतिवद्धता व्यक्त गरेका छन्। बैठकमा २१ जनवर्गीय सङ्गठनका प्रमुख र पदाधिकारीहरुको सहभागिता रहेको पार्टी सचिवालय सदस्य राजाराम वर्तौलाले जानकारी दिए।