महामारीले काम गर्न दिएन, नत्र सबै बाचा पुरा भैसक्थे: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

महामारीले काम गर्न दिएन, नत्र सबै बाचा पुरा भैसक्थे: प्रधानमन्त्री ओली



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको अवस्था नआएको भए पहिले गरिएका सबै बाचा र काम पुरा भैसक्ने बताएका छन् । संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्चमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीकै कारण केही राष्ट्रिय गौरवका आयोजनाहरु उद्घाटन हुन नसकेको पनि उल्लेख गरे ।

उनले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको समेत बताएका छन् ।

कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको बताए । विकासको गति केही सुस्त भएको बताउँदै ओलीले महामारीको अवस्था नआएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिबद्धतालाई पूरा गर्न सकिने समेत बताए ।

प्रधानमन्त्रीले भने, ‘भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन शुरु भएको हुने थियो । मेलम्चीको पानी आउन थालेको हुने थियो ।

रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो ।’ विगत तीन बर्षदेखि अर्थतन्त्रले उच्च आर्थिक बृद्धिदरको लय समातेको भएपनि कोभिड–१९ का कारणले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको पनि प्रधानमन्त्रीले बताए ।

उनले सरकारले कोभिड–१९ बाट प्रभावित उद्योग-व्यवसायलाई सहज सञ्चालनको वातावरण बनाउन बजेट र मौद्रिक नीतिमार्फत आर्थिक पुनरुत्थानका प्रस्तावहरु अघि सारेको बताउँदै कर सहुलियत देखि बैक ब्याज एवं विद्युत महसूल छुट र श्रमिकको सामाजिक सुरक्षा कोषमा सरकारका तर्फबाट रकम योगदान गर्नेसम्मका कामहरु भएको बताए । अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष रेमिट्यान्स भित्रिएको पनि उनले उल्लेख गरे ।