आइपिएल महाभिडन्त सुरु, आज एमआइ र सीएसके भिड्ने - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

आइपिएल महाभिडन्त सुरु, आज एमआइ र सीएसके भिड्ने



काठमाडौं- १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट शनिबारदेखि यूएईमा सुरु हुँदै छ । भारतमा कोरोना महामारीका कारण प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि यस संस्करणको आइपिएल केही ढिलागरी भएपनि यूएईमा खेलाइने तय भएको थियो ।

प्रतियोगिताको उद्‍घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्‍नई सुपर किङ्सको सामना गर्दै छ । सर्वाधिक चारपटकको विजेता मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् भने तीनपटको विजेता चेन्‍नईको कप्तानी महेन्द्रसिंह धोनीले गर्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पोने ८ बजे सुरु हुनेछ ।

गत संस्करणको फाइनलमा यी दुवै टोली खेलेका थिए जसमा मुम्बईले एक रनको रोमाञ्‍चक जीत हात पार्दै चौथोपटक उपाधि उचाल्न सफल भएको थियो ।

आइपिएलका १२ वटा सिजनहरुमा मुम्बईले ४ पटक तथा चेन्‍नईले तीनपटक उपाधि जित्दा कोलकाता नाइट राइडर्सले दुई पटक तथा डेक्कान चार्जर्स राजस्थान रोयल्स र सनराइजर्स हैदराबादले एक-एकपटक उपाधि जितेका छन् ।

किङ्स इलाभेन पञ्‍जाव, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलोरले भने उपाधि जित्‍न सकेका छैनन् ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने यसपटक पनि दिल्ली क्यापिटल्सको टोलीमा रहेका छन् । उनी आबद्ध दिल्लीको खेल आइतबार किङ्स इलाभेन पञ्‍जावसँग रहेको छ ।