सामाजिक न्यायसहितको समृद्धि अब हाम्रो काँधमा: राष्ट्रपति भण्डारी - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

सामाजिक न्यायसहितको समृद्धि अब हाम्रो काँधमा: राष्ट्रपति भण्डारी



काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताएकी छिन्।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अंगलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन्।

संविधानको मर्म र भावनलाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नातर्फबाट इमान्दार प्रयास जारी राख्न राष्ट्रपतिले सबैलाई आह्वान गरेकी छन्। उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले चालिरहेका कदमको सराहनाका साथ त्यसमा चाँडो सफलता मिल्ने अपेक्षा गरेकी छन्।

संविधानको कार्यान्वयनमार्फत् नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न पनि राष्ट्रपतिले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७ का अवसरमा शुभकामना व्यक्त गरेकी छन्।