'अख्तियार नै ठुला मुद्दा ढाकछोप गर्ने अखडा बन्यो' - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

‘अख्तियार नै ठुला मुद्दा ढाकछोप गर्ने अखडा बन्यो’



काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताएका छन् ।

पछिल्लो आठ/दश वर्षयता अख्तियारले सानातिना मुद्दा लगाउने तर ठूला मुद्दालाई नदेख्ने प्रवृति देखा पर्दा उदाहरणीय काम नदेखिएको उपाध्यायले बताएका हुन् । अख्तियारमा दक्ष मान्छे नहुँदा आरोपपत्र सहीढंगले तयार नभएकाले साना मसिना केसमा अख्तियार अल्झिएको हुनसक्ने उनले बताए ।

‘अहिले अख्तियार कस्तो देखिन्छ भने उदाहरणीय काम गरेको देखिँदैन् । अलिकति सानातिना मसिना केसमा लागेको देखिन्छ । स्टिङ अपरेसन भनेको छ त्यसमा पनि २ हजार ३ जहाजार मान्छे समातिराखेको छ,’ उनले भने, ‘हुनत केही मुद्दा ठूला मुद्दा पनि लागेको छ लाग्न त तर धेरै जसो त्यस्ता मुद्दा छन् । अख्तियारको आरोप पत्र पनि दक्ष मान्छेले तयार नपारेको देखिन्छ त्यसकारण त्यहाँ दक्ष मान्छेको खाचो परेको जस्तो देखिन्छ ।’

नेतृत्व चयन गर्दा नै होस पुर्‍याएर नगर्दाको परिणाम देखिएको आठ/दश वर्षयता देखिएको बताए । अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुने मान्छेको विगत कस्तो थियो, कुनै उदाहरणीय कार्य गरेको छ या छैनलगायतका विषयमा मूल्याङ्क न गरेर नियुक्त नगर्दा गलत परिणाम आउने गरेको उनले बताए । विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउने गरेको उनको भनाइ छ ।

‘पहिलो कुरा अख्तियारमा नियुक्ती गर्दाखेरी जसले नियुक्ती गर्ने हो त्यो मान्छेले होस पुर्‍याएर नियुक्ती गर्नुपर्‍यो । जसलाई नियुक्त गर्ने हो त्यसको व्याकग्राउण्ड पेपर पूरा खानतलासी गर्नुपर्‍यो । त्यो मान्छेको कहाँ काम गरेको थियो कस्तो काम गरेको थियो, त्यसले कुन उदाहरणीय प्रस्तुत गरेको थियो विभिन्न ठाउँमा काम गरेको होला त्यस्तो मान्छे,’ उनले भने, ‘त्यसको के विगत थियो जहाँ काम गरेको थियो त्यहाँका मान्छेहरुले त्यसको के मूल्यांकन गर्छन सबै कुरा अध्ययन नगरिकन मान्छे नियुक्त गर्न हुँदैन् । विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउँछ ।’

राजनीतिक नेतृत्वले अख्तियारको प्रमुख आयुक्त छान्ने भएकाले गलत मान्छे नियुक्त गरेमा त्यसबाट निस्कने परिणामको जिम्मेवारी पनि छान्ने व्यक्तिले नै लिनुपर्ने उपाध्यायले बताए । ‘जसले नियुक्ति गर्ने हो ति व्यक्ति देशका जिम्मेवार व्यक्ति हुन् । हामीले छानेर पठाएका व्यक्ति हुन् । एकजना प्रधानन्यायाधीसबाहेक अरू सबैलाई हामीले छानेरै पठाएको हो । जनताले नै छानेर त्यत्रो ठूलो पदमा पुगेका मान्छेले नै नगरेपछि त अब कसको आशा गर्ने त्यसो भए,’ उनले भने, ‘स्वयं प्रधानमन्त्री त्यसमा बस्नुहुन्छ । विपक्षि दलको नेता बस्नुहुन्छ संवैधानिक परिषदमा उहाँहरूले नै देशलाई निष्पक्ष राम्रो, गतिलो विगत भएको योज्ञता पुगेको मान्छे र काम गर्न सक्ने मान्छेलाई छान्न सक्नुभएन भने अब सडकको मान्छेले त छान्ने होइन । त्यसकारणले जिम्मेवारी उहाँहरूले लिनुपर्छ ।’

अख्तियारमा जाखिर खान मात्रै आउने व्यक्तिले कुनै पनि राम्रो नतिजा दिन नसक्ने उनले बताउ । अख्तियार प्रमुखसँग काम गर्ने अठोट र लक्ष्य भएमात्र सही नेतृत्व दिन सक्ने उपाधयायको भनाइ छ । उनले कुनै पनि सही नेतृत्व अख्तियारमा आउन सक्दाखेरी उदाहरणीय काम हुन जाने र अन्य आयुक्तलाई पनि नियत्रणमा जान बाध्य पार्ने बताए ।

अख्तियार प्रमुख आयुक्त भइसकेका व्यक्ति नै अख्तियाको कारबाहीमा पर्ने, अदालतमा मुद्दा पर्ने, योग्यता नपुगेर अदालतले हटाइदिनु पर्ने लगायतका क्रियाकलापले अख्तियारको लोकप्रियता घट्दै गएको स्पस्ट हुने उनले बताए । राजनीतिक व्यक्तिले नियुक्त गरेपछि पनि स्वतन्त्र भएर काम गर्नुपर्ने ठाउँमा फेरि पनि व्यावहारिक रूपमा राजनीतिक व्यक्तिको हस्तक्षेप भइराखेको देखिएको उपाध्यायको भनाइ छ ।