अब नेकपामा गुटबन्दी गर्ने र सामाजिक संजालमा लेख्नेलाई कारबाही
काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अब जथाभावी बोल्न र लेखन नपाइने भएको छ । पार्टीका दुई अध्यक्षले स्थायी कमिटिका लागि पार्टीको विवाद समाधानका गर्न नयाँ प्रस्ताव तयार पारेका छन्।
बुधबार बालुवाटारमा भएको लामो छलफलपछि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनलाई आधार बनाएर दुई अध्यक्षले स्थायी कमिटीबाट पारित गराउनका लागि नयाँ प्रस्ताव तयार गरेका हुन्।
पार्टीमा देखिएको लामो विवाद समाधान र नयाँ सहमतिका निम्ति प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो प्रस्ताव तयार पारेका हुन्। दुई अध्यक्षबीच बुधबार भएको भेटवार्तापछि यस्तो प्रस्तावलाई अन्तिम रुप दिइएको हो । तर उनीहरुको यो प्रस्ताव स्थायी कमिटीमा पेश नहुँदै बाहिरिएको छ।
प्रस्तावमा उल्लेख भएअनुसार अब ओलीलाई सरकार र दाहाललाई पार्टी सञ्चालन गर्ने कार्यकारी अधिकार रहनेछ । पछिल्लो सहमतिको प्रस्ताव शुक्रबारका लागि तय गरिएको स्थायी कमिटी बैठकमा पेस हुनेछ।
त्यतिमात्र होइन नेकपाभित्र अब गुटबन्दी गर्न र पार्टीको नीतिविपरित लाग्न समेत नपाइने भएको छ ।
ट्वीटर र फेसबुकमा लेखे कारबाही
दुई अध्यक्षले गरेको प्रस्तावमा पार्टीमा अनुशासनहीनता र गुटबन्दी बढ्दै गएकाले त्यसलाई रोक्नै पर्ने निचोड निकालिएको छ । प्रस्ताव समग्र पार्टी र तीनै तहको सरकारलाई समेत गुटबन्दीले गम्भीर असर परेको निचोड निकालिएको छ।
प्रस्तावमा भनिएको छ, ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्धति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सबै प्रकारका अनेकता, अराजकता, अनुशासनहीनता एवम् गुटबन्दीपूर्ण कृयाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ’, प्रस्तावको बुँदा नम्बर २.४ मा भनिएको छ। दुई अध्यक्षको प्रस्तावमा पार्टीको नीति तथा नेता कार्यकर्ताविरुद्ध फेसबुकसहितका सामाजिक सञ्जालमा जथाभावी लेखेमा कारवाही गरिने भएको छ।
‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हितविपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरू र सम्बद्ध सबैलाई निर्देशित गर्दछ’, प्रस्तावमा अगाडि भनिएको छ। पार्टीलाई गुटबन्दीले नराम्ररी बिगारेको ठहरसहित दुई अध्यक्षले प्रस्तावको बुँदा नम्बर २.५ मा अब आरोप प्रत्यारोप रोकिनुपर्ने उल्लेख छ।
‘विगतमा जस्तै यसपटक पनि आन्तरिक विवादलाई कटुतपूर्ण र यदाकदा शत्रुतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट-गुटका अलग-अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोप-प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरूलाई कडाईका साथ नियन्त्रण गर्ने र पार्टीलाई अनुशासित र पार्टी भित्रको वहस-विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने निर्णय गर्दछ’, प्रस्तावमा अगाडि भनिएको छ।
दुई अध्यक्षले अहिलेसम्म भएका कमीकमजोरीमा सबै नेता कार्यकर्ताले आत्मआलोचित हुनुपर्ने प्रस्ताव गरेका छन् । ‘सम्बन्धित सबै नेता, कार्यकर्ता तथा सदस्यहरुलाई आ-आफ्ना गल्ती, कमजोरीप्रति आत्मसमीक्षा र आत्मआलोचित हुँदै भविष्यमा त्यस प्रकारका गल्ती, कमजोरीहरू दोहोरिन नदिन निर्देशित गर्दछ’, अगाडि भनिएको छ, ‘अतितमुखी होइन भविष्यमुखी भएर, वर्तमानका चुनौतीलाई वेवास्ता गरेर होइन, तिनलाई सामना गर्ने सही निष्कर्ष र सार्थक योजनाका साथ अघि बढेर जनताले सुम्पिएको अभिभारा पूरा गर्दै मुलुकको उज्ज्वल भविष्य सुनिश्चित गर्ने संकल्प गर्दछ।’
नेकपामा एउटा गुटले अर्को गुटलाई घोचपेच गर्ने, गाली गलौज गर्ने र होच्याउने क्रम ब्यापक छ । यतिसम्म कि प्रधानमन्त्री ओलीकै सचिवालयका कतिपय नेताहरूले विभिन्न नेताहरूको चरित्र हत्या समेत गर्ने गरेका छन् । त्यस्तै प्रचण्ड- नेपाल गुटका केहि नेताहरूले पनि ओली गुटका नेताहरूलाई होच्याउने गरेका छन् । दुई अध्यक्षले तयार पारेको प्रस्तावमा यसअघि गालीगलौज गर्नेलाई के कारबाही गर्ने भन्ने चाहिं उल्लेख गरिएको छैन ।