असोज १ देखि लामो तथा छोटो दुरीका सबै यातायात खुला गर्न चेतावनी - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

असोज १ देखि लामो तथा छोटो दुरीका सबै यातायात खुला गर्न चेतावनी



काठमाडौं- सरकारले कुनै प्रकारको विकल्प नदिए असोज १ गतेदेखि लामो तथा छोटो दुरीका सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने यातायात व्यवसायीहरुले जनाएका छन् ।

मंगलबार सरकारलाई चेतावनी दिंदै असोज १ देखि लामो तथा छोटो दूरीका यातायात चलाउने बताएका हुन् ।

नेपाल यातायात व्यवसायी महासंघ र तीन वटा मजदुर संगठनले मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटी सरकारले कुनै प्रकारको सहजीकरण नगरे असोज १ देखि लामो तथा छोटो दूरीका यातायात चलाउने चेतावनी दिएका हुन्।

नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार सरकारले सार्वजनिक सवारी साधनमा कुनै विकल्प नदिएको र ६ महिनादेखि यातायात व्यवसायीहरुको रोजीरोटी खोसिएकाले सरकारले कुनै सहजीकरण नगरे असोज १ देखि लामो तथा छोटो दुरीका यातायात सञ्चालन गर्ने चेतावनी दिए।

यातायात सञ्चालन गर्ने क्रममा सबै सुरक्षाका उपायहरु अपनाउने तर अब कोरोना भनेर घरमै थन्किएर बस्ने अवस्था नभएको यातायात व्यवसायीहरुले छलफलका क्रममा बताएका थिए।

चैत ९ गतेदेखि बन्द भएको यातायात सेवा बीचमा केही साताका लागि सञ्चालन भए पनि अहिले ठप्प छ। सरकारले अन्तर्राष्ट्रिय उडान सीमित रुपमा खुला गरे पनि यातायातबारे कुनै उपाय निकालेको छैन।