उपत्यकामा थप एक साता खुकुलो निषेधाज्ञा: निजि क्षेत्र खुल्ने, अब के-के गर्न पाइन्छ ? - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

उपत्यकामा थप एक साता खुकुलो निषेधाज्ञा: निजि क्षेत्र खुल्ने, अब के-के गर्न पाइन्छ ?



काठमाडौं- काठमाडौं उपत्यकामा ३ सातादेखि लगाइएको निषेधाज्ञा खुकुलो बनाउनेगरि गृहमन्त्रालयलाई सिफारिस गरिएको छ । मंगलबार नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले केहि खुकुलो पार्नेगरी ड्राफ्ट गृहमा पठाईएको हो ।

लकडाउनको मोडालिटीमा केहि परिवर्तन गरी अनुमोदनका लागि गृहमन्‍त्रालयमा फाइल पुगिसकेको स्रोतले बताएको छ । गृहबाट अनुमति पाएपछि बुधबार नै उक्त निर्णय सार्वजनिक गरिने छ ।

खुकुलो पार्ने मापदण्ड अनुसार निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको छ। तर होटल रेष्टरेन्ट,सिनेमा हल, क्लब तथा अन्य मनोरञ्‍जन स्थल भने खुला गरिने छैन।

मंगलबार काठमाडौं उपत्यका नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको बिषयमा औपचारिक छलफल गरेर गृहसमक्ष खुकुलो पार्न प्रस्ताव गरेका हुन्।

निरन्तरको लकडाउन समाधान नभएको तर्क गर्दै उद्योगी तथा व्यवसायीले निषेधाज्ञा खकुलो नबनाए अवज्ञा गर्ने चेतावनी दिदै आएका छन्। मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाकामा सेनासहितको कडा सुरक्षा व्यवस्था गरेर उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने सुझाव दिएको थियो।

उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले भदौ २ गतेको पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका थिए। भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो। त्यसलाई कायम राख्दै भदौं १७ गते फेरि भदौं २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो।

निषेधाज्ञापछि पनि उपत्यकामा स‌ंक्रमण घटेको छैन। अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन्।