उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने तयारी: यस्तो हुनेछ नयाँ मोडल
काठमाडौं- काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी भैरहेको छ । जसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच छलफल हुँदैछ ।
निषेधाज्ञाको कारण उपत्यकाको जनजीवन कष्टप्रद बन्दै गैरहेको र जनस्तरबाट विरोध हुन थालेपछि यस्तो तयारी गरिएको बताइएको छ ।उपत्यकामा जारी निषेधाज्ञा बुधबार सकिंदै छ ।
प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल थालेको हो । मंगलबार दिउँसो साढे २ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भर्चुअल संवाद हुँदैछ ।
कोरोना संक्रमण बढेपछि तीन वटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका छन् । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ । अहिले उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख, उद्योग वाणिज्य महासङ्घ र महानगरीय ट्राफिक प्रहरी महाशाखाका पदाधिकारीबीच छलफल भइरहेको छ ।
यो छलफलपछि सुरक्षाकर्मीसित छलफल गर्ने र त्यसपछि फेरि प्रमुख जिल्ला अधिकारीबीच छलफल हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् ।
उनले उत्यकाका निम्न आय भएका वर्गको अवस्था जटिल बन्दै गएको कुराबारे आफूहरु अवगत रहेको बताउँदै भने, ‘उहाँहरुको लागि जे उपयुक्त हुन्छ त्यहीं निर्णय गर्छौ, निर्णय भोलि आउँछ, आज छलफल र परामर्श हुन्छ ।’
कस्तो बन्ला अब निषेधाज्ञाको मोडल ?
लगातारको निषेधाज्ञाले नागरिकको जनजीवन कष्टप्रद बन्दै गएको र नागरिकमा आक्रोश पैदा भएकोबारे गृह प्रशासनको पनि ध्यान तानिएको छ । नागरिकमा बढ्दो आक्रोशका कारण सरकारलाई पनि मोडालिटी फेर्नु वाध्यता भइसकेको छ ।
स्रोतका अनुसार दुई वटा प्रस्ताव आएका छन् । पहिलो, एक साता निषेधाज्ञा थपेर रोजगारीका क्षेत्रलाई खुला गर्ने । दोस्रो, जोर–विजोर प्रणाली लागू गर्ने गरेर सवारी साधन पनि चल्न दिने ।
यद्यपि जोर–विजोर प्रणाली यसै हप्ता लागू गर्ने वा एक सातापछि भन्ने टुंगो लागिसकेको छैन । ४ भदौबाट जारी निषेधाज्ञाका कारण एक सातापछि संक्रमण दर पनि घट्दै जाने कतिपय प्रशासकको विश्लेषण छ ।