प्रदेश २ मा कोरोनाबाट १ सय जनाको मृत्यु

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०० जना पुगेको छ ।
शनिवार पर्सा जिल्लामा दुई जनाको मृत्यु भएसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १०० जना पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश नं २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
शनिवार पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका २ का ७५ वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको झाले बताए ।
देशभरीमा २८० जनाको मृत्यु हुँदा प्रदेश नं २ मा मात्र १०० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अधिकांश बढी उमेर भएका र दीर्घरोगी रहेको सामाजिक विकास मन्त्रालय प्रदेश नं २ ले जानकारी दिएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ३८ जनाको मृत्यु भएको छ । त्यस्तै बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सिरहा र सप्तरीमा ८/८, रौतहटमा ५, सर्लाहीमा ३ र एक जना भारतीय नागरिकको धनुषामै कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रदेश २ मा हालसम्म कुल १ लाख ४ हजार ५८ जनाको स्वाब परीक्षण गरिएकोमा ११ हजार ६१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

