रुसले बनाएको काेराेना खोपले बिरामी निको भएको वैज्ञानिकहरुको दाबी - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

रुसले बनाएको काेराेना खोपले बिरामी निको भएको वैज्ञानिकहरुको दाबी



एजेन्सी- रुसका वैज्ञानिकले आफूहरूले बनाएको खोपले मानिसमा कोरोनाविरुद्ध लड्ने शक्ति (एन्टिबडी) विकास गरेको दाबी गरेका छन् ।

रुसले यसअघि नै विश्वको पहिलो सफल कोरोना खोपका रूपमा घोषणा गरेको स्पुत्निक–५ नामको खोप परीक्षणको पहिलो प्रतिवेदन प्रकाशन गर्दै त्यहाँका वैज्ञानिकले खोप लगाएका सबैमा एन्टिबडी विकास भएको पाइएको दाबी गरेका हुन् ।

मेडिकल जर्नल ‘द लान्सेट’मा प्रकाशित रिपोर्टअनुसार खोप लिएका सबै ३८ जनामै एन्डिबडी विकास भएको छ भने कसैमा गम्भीर साइड इफेक्ट पनि देखिएको छैन । तर सामान्य टाउको र जोर्नी दुख्ने समस्या भने देखिएको छ ।

जर्नलमा प्रकाशित रिपोर्टअनुसार १८ देखि ६० उमेर समूहका उनीहरुलाई खाेपकाे पहिलो डोज दिइएको ३ सातापछि बुस्टर डोज दिइएको थियो । त्यसको ३६ दिनमै सबैको शरीरमा एन्टिबडी विकास भएको पाइएको हो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत अगस्टमै खोप प्रयोगका लागि खुला गरिएको घोषणा गरेका थिए । उनले आफ्नी छोरीलाई समेत खोप लगाएको र परिणामा राम्रो देखिएको भन्दै स्पुत्निक–५ लाई विश्वको पहिलो सफल खोप दाबी गरेका थिए ।

जर्नलमा प्रकाशित प्रतिवेदअनुसार अब खोपको तेस्रो चरण परीक्षण गरिनेछ । जसमा फरक(फरक उमेर र जोखिम समूहबाट ४० हजार मानिस सहभागी हुनेछन् ।

तर केही पश्चिमा विज्ञले चाँडै खोप निकालेकाले प्रभावकारिता र विश्वसनीयतामा शंका व्यक्त गरिरहेका छन् ।

तर कतिपय विज्ञले खोप बजारमा उपलब्ध हुन अझै लामो प्रक्रिया पूरा गर्न बाँकी रहेको चेतावनी दिएका छन् ।