अब निषेधाज्ञामा पनि दैनिक कार्य गर्न पाइने
काठमाडौं- कोरोना रोकथाम गर्न गठित (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञा लागू भएका जिल्लामा दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले निषेधाज्ञाले जनजीवनमा पारेको असरलाई व्यवस्थापन गर्न दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले जनसमुदायमा पर्न गएको समस्यालाई मध्यनजर गरी मापदण्ड तोकेर दैनिक कार्य गर्न पाउने व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
बैठकमा एम्बुलेन्सको सेवालाई प्रभावकारी बनाउने र कोभिड अस्पतालमा आइसीयू र भेन्टिलेटरको थप व्यवस्था गर्ने विषयमा छलफल भएको छ ।
यस्तै नेपाल भेन्टिलेटर सेवाले शुरु गरेको भेन्टिलेटर बैंकको परिचालन स्वास्थ्य सेवा विभागमार्फत गर्ने निर्णय समेत गरेको छ ।
यस बाहेक तेस्रो मुलुकबाट हवाई उडानमार्फत पीसीआर परीक्षण भएका र नभएका व्यक्तिहरु एउटै जहाजमा आएको पाइएकाले त्यसलाई कडा रुपमा कार्यान्वयन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्स कम्पनीहरुलाई निर्देशन दिने निर्णय गरेको गुरागाईंले बताएका छन् ।
काठमाडौंसहित ३४ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक निषेधाज्ञा
कोरोना महामारीका कारण देशका ३४ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारीहरुले जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा जारी गरेका हुन् ।
गृह मन्त्रालयका अनुसार पूर्ण निषेधाज्ञा गरिएका जिल्लाहरुमा सप्तरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, चितवन, दोलाखा, सिन्धुपाल्चोक, सिरहा, मोरङ, रुपन्देही, आर्धाखाँची, स्याङजा, पाल्पा, रामेछाप, कैलाली, प्युठान, दैलेख, कञ्चनपुर, तेह्थुम, संखुवासभा, बैतडी, कपिलवस्तु, बर्दीया, डोटी, दाङ, बझाङ र बागलुङ छन् ।
पछिल्लो २४ घण्टामा डोल्पाको निषेधाज्ञा हटेको छ । यस्तै आंशिक निषेधाज्ञा गरिएका जिल्लाहरुमा नुवाकोट, जुम्ला, झापा, मकवानपुर, धादिङ, तनहुँ, रुकुम पश्चिम, लमजुङ र दैलेख रहेको गृह मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार २२८ कोरोना संक्रमित फेला परेका छन् भने ६ जनाको मृत्यु भएको छ ।