बागलुङमा भिषण बाढी र पहिरो: बस्ती नै खोलामा बग्यो, दर्जनौँ बेपत्ता - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

बागलुङमा भिषण बाढी र पहिरो: बस्ती नै खोलामा बग्यो, दर्जनौँ बेपत्ता



बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकामा गएराति भीषण पहिरो जाँदा दर्जानौं मानिसहरु हराएका छन्। ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ। सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो।

ढोरपाटन नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका ठाउँ ठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क बिहिन भएको र थप मानिसहरु हराएको हुनसक्ने स्थानीयले बताए।

अविरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १७ जना सम्पर्कबिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ । रातिको समयमा खोला उर्लेर आउँदा ठुलो क्षती भएको र अहिलेसम्म यकिन हुन नसकेको बताइएको छ ।

अहिले उद्दारको काम भइरहेको छ भने बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान गरिएको छ ।

बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। उनले राति नै घटना स्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए।

पहिरो र बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्कविहीन भएको बताइएको छ। यस्तै बाढीले लाकुरीबोट ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्ड्मा १, घर बगाएको छभने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ ।

साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको छ। घटनाको बिस्तृत विवरण आउन बाँकी छ। त्यहाँका जनप्रतिनिधिको सम्पर्क हुन सकिरहेको छैन भने भीषण वर्षाका कारण बिहिबार बिहान सम्म बुर्तिबाङबाट हिँडेको प्रहरी टोलि घटनास्थल पुग्न सकेको छैन्।