प्रधानमन्त्रीले भने: कुनै पनि हालतमा खतिवडालाई राष्ट्रियसभामा लैजान्छु
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको विवादले फेरि चर्को रुप लिने देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा पुनः सिफारिस गर्ने र अर्थमन्त्री बनाउने अडान लिएपछि विवाद पुनः बढ्ने देखिएको हो ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले खतिवडाकै पक्षमा अडान लिएका छन् । ओलीले कुनैपनि हालतमा खतिवडालाई नै राष्ट्रिय सभामा लैजाने बताएका थिए । प्रचण्डले भने वामदेवलाई राष्ट्रिय सभामा लैजान र पार्टीले गरेको निर्णय कार्यन्वयन गर्न आग्रह गरेका छन् ।
पार्टीका उपाध्यक्षसमेत रहेका नेता वामदेव गौतमले राष्ट्रियसभामा जाने भनेर औपचारिक रूपमै प्रधानमन्त्री ओलीलाई बताएका छन् त्यतिमात्र होइन गौतमले आफूलाई राष्ट्रिय सभामा लैजान पार्टीले गरेको यसअघिको निर्णय कार्यान्वयन गर्नुपर्ने अडान लिएका छन् ।
गौतम स्वयमले अडान लिएका बेला ओली भने डा. खतिवडाकै पक्षमा देखिएका हुन्। राष्ट्रियसभामा कसलाई पठाउने भन्ने विषयमा बिहीबार बस्ने सचिवालय बैठकमा छलफल गर्ने अध्यक्षद्वयबीच सहमति भएको बताइएको छ ।
कार्यदलको प्रतिवेदन र राष्ट्रिय सभामा सिफारिसका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’वीच बेलुका सवाँ ५ बजे बालुवाटार छलफल गरेका थिए। ओली प्रचण्डवीच राष्ट्रिय सभामा मनोनित गर्ने व्यक्तिका विषयमा सहमती हुन नकसेपछि सचिवालयबाट टुंगो लगाउने भएको हो।
पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभामा अर्थमन्त्री खतिवडालाई नियूक्त गर्नुपर्ने मत राखेको स्रोतले जनाएको छ । आफूलाई काम गर्न खतिवडा नै हुनुपर्छ भएन भने गाह्रो हुने भन्दै प्रचण्डसँग बताएका थिए ।
राष्ट्रिय सभामा सिफारिस गर्ने व्यक्तिको विषयमा सहमती हुन नसकेपछि प्रचण्डले प्याकेजमा सचिवालयमा सहमती गर्ने भन्दै उठेका थिए।