लक्षण भएका संक्रमितले काठमाडौंमै पाउन छाडे अस्पताल - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

लक्षण भएका संक्रमितले काठमाडौंमै पाउन छाडे अस्पताल



काठमाडौं- काभ्रेका रविन सेढाईंलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतबार सम्पर्क गर्यो। त्यसपछि उनी अलमलमा परे।

काठमाडौंका विभिन्न अस्पताल धाए । तर, उनले शय्या पाउन सकेनन् । उनले भने, ‘संक्रमित भए पनि अस्पतालले भर्ना गर्नै मान्दैनन् । म पनि सोमबार दिनभरि भौतारिएँ।’ उनले आफूसँगै संक्रमण पुष्टि भएका नौ जना सेल्फ आइसोलेसनमा बसेको बताए।

काठमाडौंकी ५७ वर्षीया राधिका महर्जनलाई सोमबार कोरोना पुष्टि भयो । उनी घरमै सेल्फ आइसोलेसनमा बसेकी छन् । तर, उनलाई अक्सिजनको कमी भएपछि सास फेर्न गाह्रो भयो । विभिन्न अस्पताल चहार्दा समेत उनी भर्ना हुन पाएकी छैनन्।

काठमाडौं उपत्यकासहित देशभरका केही अस्पतालले कोरोना भाइरस संक्रमण पुष्टि भएकालाई भर्ना गर्न आनाकानी गर्दा संक्रमितले समस्या भोग्नुपरिरहेको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

रिपोर्ट पोजेटिभ आएमा संक्रमित आफैँले पनि स्वास्थ्य मन्त्रालयका डा. माधव लम्साल र लीला विक्रम थापालाई सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

इडिसिडीले लक्षणसहितका संक्रमितले डा.लम्साललाई ९८५१२३४२२९ र लक्षण नभएका संक्रमितले थापालाई ९८५११४७३६१ मा फोन गर्न आग्रह गरे पनि केही संक्रमितहरूले आफूहरूलाई बेवास्ता गरेको बताएका छन्।

पछिल्लो समयमा संक्रमणदर दिन प्रतिदिन बढ्दै गएको छ। लक्षणसहितका संक्रमित बढ्न थालेपछि चिकित्सकले व्यक्ति स्वयं सचेत र सजग रहन आग्रह गर्दै आएका छन् । भौतिक दुरी कायम गरेर आत्मानुशासनमा रहे कोरोनाबाट जोगिन सकिने चिकित्सकको भनाइ छ।