दुई दर्जन प्रहरी छक्याएर विप्लव नेता यसरी भए फरार

राजविराज- रिहा भएलगत्तै फेरि पक्राउ गर्न दुई दर्जन बढी प्रहरीकै अगाडीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी नेतृ उमा भुजेल ‘शिलु’ र नेता सुमनसिंह एकाएक पौडेल बेपत्ता भएपछि प्रहरी नै रनभुल्ल परेको छ ।
पुनः पक्राउका लागि अदालत अगाडि बसेको प्रहरीलाई झुक्याएर उनीहरु फरार हुन सफल छन् । सप्तरी जिल्ला अदालत अगाडि पक्राउ गर्न दुई इन्स्पेक्टरको नेतृत्वमा दुई दर्जन बढी प्रहरी तैनाथ थिए ।
विप्लव नेता उम्किएपछि प्रहरीलाई तनाव भएको छ। विप्लव नेता उम्किसकेपछि चाल पाएका प्रहरीले अदालतभित्र लुकेको हुन सक्ने भन्दै कोठा-कोठा चहार्दै खोजेका थिए। स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप भन्दै कानुन व्यवसायीले विरोध जनाएका छन्।
सर्वोच्च अदालतको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएसनको रोहबरमा आइतबार साँझ रिहा गरेपछि पुनः पक्राउ गर्न प्रहरी तैनाथ थिए। बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले रिहा गर्ने आदेश गरे बमोजिम उनीहरु रिहा भएपछि बेपत्ता भएको बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिए।
अदालत परिसर अगाडिको मूल ढोकामा पुनः पक्राउ गर्न प्रहरी र फोटो खिच्न पत्रकार बसेका थिए। उनीहरु अदालतबाट बार एशोसिएसनको पछाडिको ढोका हुँदै बेपत्ता भएको अदालतका एक कर्मचारीले जानकारी दिए।
जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै अदालत परिसरबाट बाहिर निक्लदा पक्राउ परेका उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले अभद्र व्यवहारको आरोप लगाउँदै भदौ ४ गते मुद्दा चलाएको थियो।
सुनसरीमा पक्राउ परेलगत्तै दुवै जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएर सप्तरी प्रहरीलाई बुझाएको पौडेलको परिवारका सदस्यले जानकारी दिएका छन्। आठ महिनाको अवधिमा भुजेल १२औं पटक पक्राउ परिसकेकी छन्।

