मन्त्रिपरिषदबाटै धमाधम विशिष्टलाई सुविधा - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

मन्त्रिपरिषदबाटै धमाधम विशिष्टलाई सुविधा



काठमाडौं- विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीलाई सेवा सुविधा दिने कानुन नबनेको अवस्थामा सरकारले मन्त्रिपरिषद्बाटै सेवा सुविधा दिने निर्णय गरेको छ।

सर्वोच्चको फैसलाअनुसार कानुन निर्माण हुन नसक्दा सरकाले मन्त्रिपरिषद्को निर्णयबाट विशिष्ट तथा पूर्वपदाधिकारीहरूलाई सुरक्षालगायत अन्य सेवा सुविधा दिइँदै आएको छ।

संसदबाट विशिष्ट र पूर्वपदाधिकारीको सेवा सुविधाको विषयमा कानुन नबनेपछि मन्त्रिपरिषद्ले निर्णय गर्दैै पूर्वपदाधिकारीलाई सुरक्षा, घरभाडा, गाडी, इन्धनलगायतको सुविधा दिन थालिएको खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।

गत २ असारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्चबाटै गाडीसहितको सेवा सुविधा पाउने निर्णय गरेको छ।

यसअघि महालेखा परीक्षक कार्यालयले पूर्वप्रधानन्यायाधीशले सर्वोच्चबाट लिएको गाडी र इन्धन सुविधाको विषयमा दुई पटकको वार्षिक प्रतिवेदनमा प्रश्न उठाएको थियो । महालेखाले सुविधाका लागि कानुन बनाएर मात्रै पूर्वप्रधानन्यायाधीशलाई सेवा सुविधा दिन भनेको थियो।

सर्वोच्च आफैंले कानुन निर्माण गरेर मात्रै पूर्वपदाधिकारी र विशिष्टलाई सुविधा दिन भन्दै गरेको फैसलाविपरीत पूर्वप्रधानन्यायाधीशले आफूखुसी गाडी लगेको भन्दै विरोध भएको थियो।

मन्त्रिपरिषद्को बैठकले पूर्वप्रधानन्यायाधीशको सेवा सुविधा सर्वोच्चबाट दिने निर्णय गरेसँगै विवाद अन्त्य भएको छ । मन्त्रिपरिषद्को निर्णयसँगै अब पूर्वप्रधानन्यायाधीशले सर्वोच्चबाटै गाडीसहितको अन्य सुविधाले निरन्तरता पाउनेछ।

मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्वप्रधानन्यायाधीशहरूलाई आफ्नो जीवनकालसम्म १ हजार ६ सय सिसीसम्मको एउटा सवारी साधन उपलब्ध गराउने उल्लेख छ । साथै, मासिक इन्धन एक सय लिटर, हलुका सवारी चालक एक, एक निजी सुरक्षा अधिकृत एक तथा सवारी साधन मर्मत खर्च व्यवस्थापन गर्न भनिएको छ।

यसअघि २७ जेठ २०६८ को मन्त्रिपरिषद् बैठकले विशिष्ट र पूर्वपदाधिकारीलाई सेवा सुविधा दिने निर्णय हुँदा नागरिकस्तरबाटै विरोध भएको थियो।

तत्कालीन सरकारले अध्यादेश जारी गर्दै पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, गृहमन्त्रीलगायत विशिष्ट व्यक्तिलाई ३५ देखि ५० लाख रुपैयाँसम्मका गाडी, २० देखि ५० हजारसम्म घरभाडा, ४० देखि ५० हजार रुपैयाँसम्म अतिथि सत्कार खर्च र ३० देखि ५० हजार रुपैयाँसम्म सवारी साधन मर्मत खर्च दिने निर्णय गरेको थियो।

सरकारको निर्णयपछि पूर्वविशिष्टहरूलाई दिएको सुविधा आफूखुसी गरेको भन्दै परेको अधिवक्ता रामचन्द्र पौडेलले दायर गरेको रिटमा सर्वोच्चले सुविधा स्वेच्छाचारी भएको भन्दै कानुन बनाएर मात्रै सुविधा दिन फैसला गरेको थियो।

रिट परेसँगै सर्वोच्च अदालतका न्यायाधीशद्वय अवधेशकुमार यादव र भरतराज उप्रेतीको संयुक्त इजलासबाट कानुन नबनाई पूर्वविशिष्टहरूलाई थप सेवा र सुविधा नदिन उत्प्रेषण आदेश जारी भएको थियो।