देउवा र पूर्वराजालाई प्रधानमन्त्री ओलीले दिए मुखभरीको जवाफ - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

देउवा र पूर्वराजालाई प्रधानमन्त्री ओलीले दिए मुखभरीको जवाफ



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमाथि लगाएका सबै आरोप झुट भएको बताएका छन् ।

जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको भन्ने आरोप लगाउने प्रतिपक्षी नेतालाई उल्टै चुनौती दिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिँदै ओलीले भने, ‘उहाँले को सरकारलाई सफल मान्नुभयो? भारतलाई, अमेरिकालाई? कुन देश असफल भएन? युरोप, अमेरिकाको के हालत छ? उहाँ भएको भए सरकार सफल हुन्थ्यो?’

प्रधानमन्त्री ओलीले प्रतिपक्षीको काम विरोध गर्ने नभई सत्य बोल्ने हुनुपर्नेमा पनि जोड दिए।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि सल्बलाउन नसक्ने बताएका छन् । फेरि राजतन्त्र फर्काउन सल्बलाएको कुरा बेतुक तर्क भएको उनले टिप्पणी गरेका छन्।

‘कहाँ सल्बलाए? कुनै मन्दिरमा गएको सल्बलाएको हो?’ ओलीले प्रश्न गरे । उनले पूर्वराजा ज्ञानेन्द्र गणतन्त्रविरुद्ध पनि लाग्न नसक्ने जिकिर गरे।

‘उनको पछि लागेर हिजो केही खान पाएका मान्छेहरु भइदिए, हुन्थ्यो खाउँला भन्ने अवशेषहरु हुन्छन्,’ ओलीले भने, ‘ज्ञानेद्र शाह स्वयंमलाई नै जनताले टिपेर मिल्काएको राजतन्त्र फर्काउँछन् भन्ने आशा नहोला। अरु कसैले ल्याएर सत्तासीन गराइदिन्छन् भन्ने अपेक्षा, भ्रम पनि छैन होला भन्ने मलाई लाग्छ। किनकि अहिले सार्वभौम जनताको शासन हो। त्यस्तो भ्रम छ भन्ने त्यसलाई प्रतिगमनतिर जान दिँदैनौं।’