सबैभन्दा धेरै मृत्यु हुने ‘टप थ्री’ मुलुकमा भारत
एजेन्सी–कोरोना संक्रमणबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुकको सूचीमा भारत तेस्रो नम्बरमा आइपुगेको छ। शुक्रबार भारतमा १ हजार १८ जनाको मृत्यु भएसँगै भारत तेस्रो नम्बरमा परेको हो। भारतमा ६२ हजार ७ सय १३ संक्रमितको मृत्यु भएको छ।
भारतभन्दा अगाडि अब ब्राजिल र अमेरिकामात्र छन्। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १ लाख ८१ हजार ७ सय ४ र ब्राजिलमा १ लाख १९ हजार ५ सय ४ जनाको मृत्यु भएको छ भने मेक्सिकोमा ६२ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ।
२४ घण्टामा सबैभन्दा धेरै महाराष्ट्रमा ३ सय ३१ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या २३ हजार ७ सय ७५ पुगेको छ। यसैगरी, कर्नाटकमा १ सय ३६, तमिलनाडुमा १ सय २, आन्ध्र प्रदेशमा ८१, उत्तर प्रदेशमा ७७ र पश्चिम बंगालमा ५६ जनाको मृत्यु भएको छ। हाल भारतमा ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको बताइएको छ।
भारतमा शुक्रबार पनि ७६ हजारभन्दा बढी संक्रमित थपिएका छन्। त्यहाँ अब संक्रमितको ३४ लाख ६१ हजारभन्दा बढी पुगेको छ।