नेपाललाई ५४ अर्बको नयाँ अनुदान दिने घोषणा - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

नेपाललाई ५४ अर्बको नयाँ अनुदान दिने घोषणा



काठमाडौं- नेपालले स्वास्थ्य र जलवायु परिवर्तन शिर्षकमा ५४ अर्ब अनुदान पाउने भएको छ । बेलायत सरकारले नेपाललाई स्वास्थ्य, हरित अर्थतन्त्र, जोखिममा परेकालाई सहायताका लागि करिब ५४ अर्ब नेपाली रुपैयाँ अनुदान दिने घोषणा गरेको हो ।

बेलायतले जलवायु परिवर्तनविरुद्ध र हरित अर्थतन्त्रका लागि करिब ४७ अर्ब रुपैयाँ (४० करोड अमेरिकी डलर) तथा कोभिड– १९ महामारीमा स्वास्थ्य क्षेत्र तथा जोखिममा परेका समूहहरूको सहयोगका लागि करिब सात अर्ब १४ करोड रुपैयाँ (चार करोड ५८ लाख बेलायती पाउन्ड) सहयोग घोषणा गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग बिहीबार भएको बेग्लाबेग्लै भिडियो संवादमा दक्षिण एसिया मामिला हेर्ने बेलायती परराष्ट्र राज्यमन्त्री तारिक अहमदले यो घोषणा गरेका हुन् ।

बेलायती मन्त्रीले घोषणा गरेको सात अर्ब १४ करोड रुपैयाँ सहयोग नेपालको स्वास्थ्य क्षेत्र तथा आम्दानी गुमाएका जोखिममा परेका समूहहरूको संरक्षणका लागि खर्च हुने बेलायती दूतावासले जनाएको छ । बेलायतले ‘युके एड’अन्तर्गत जलवायु परिवर्तनको असरविरुद्ध जुध्न र ‘ग्रिन रिकोभरी’का लागि ४० करोड अमेरिकी डलर दिने प्रतिबद्धता जनाएको छ ।

बेलायती राज्यमन्त्री तारिकले वनमन्त्री शक्ति बस्नेत तथा सरोकारवालासँग भिडियो कन्फ्रेन्समा भने, ‘नेपालको हिमालयले लाखौँलाई पानी उपलब्ध गराएको छ । तर, जलवायु परिवर्तनले हिमनदीहरू दु्रतगतिमा पग्लिँदै गएका छन् । बेलायत नेपाललाई ग्रिन रिकोभरीमा ४० करोड अमेरिकी डलर सहयोगको प्रतिबद्धता व्यक्त गर्दछ ।’

बेलायतले आगामी वर्ष नोभेम्बरमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) आयोजना गर्दै छ । त्यसवेलासम्म नेपालले जलवायु परिवर्तनका क्षेत्रमा महत्वाकांक्षी परिणाम ल्याउने अपेक्षा गरेको राज्यमन्त्री तारिकले व्यक्त गरेका छन् । बेग्लै भिडियो संवादमा परराष्ट्रमन्त्री ज्ञवालीले आगामी वर्ष नेपालले जलवायु परिवर्तनको एजेन्डामा सगरमाथा संवाद आयोजना गर्ने र बेलायतले आयोजना गर्ने कोप– २६ सम्मेलनमा नेपाल सक्रिय रूपमा सहभागी हुने जानकारी दिए । ज्ञवालीले जलवायु परिवर्तन तथा हिमालयको पारिस्थितिक प्रणाली संरक्षण एवं दिगो विकासको प्रयासमा नेपाल सहभागी हुने आश्वासन बेलायती राज्यमन्त्रीलाई दिएका छन् ।

बेलायती राज्यमन्त्री तारिकले अर्थमन्त्री तथा परराष्ट्रमन्त्रीहरूसँग सकारात्मक संवाद भएको ट्विटरमा उल्लेख गरेका छन् । उनले अर्थमन्त्री खतिवडासँगको संवादबारे लेखेका छन्, ‘अर्थमन्त्री युवराज खतिवडासँग सकारात्मक संवाद भयो । कोभिड– १९ को महामारीविरुद्ध नेपालको सुदृढ प्रयासमा नयाँ सहयोग घोषणा गर्दा म खुसी छु । स्वच्छ र सुदृढ नेपालको आर्थिक सुदृढीकरण र व्यापारलाई सहयोग हुने गरी हामीबीच विचारहरूको आदानप्रदान भएको छ ।’

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र बेलायतबीच परराष्ट्रसचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्रको बैठक केही महिनाभित्रै आयोजना गर्न दुई मन्त्रीबीच सहमति भएको छ । ज्ञवालीले कोभिड– १९ पछिको अवस्थामा नेपालले बेलायतबाट सहयोगको अपेक्षा गरेको बताएका छन् भने बेलायती राज्यमन्त्री तारिकले नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिएका छन् । मन्त्री ज्ञवाली र राज्यमन्त्री तारिकबीच गत ४ जुनमा बेलायत सरकारले आयोजना गरेको खोप सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको सम्बोधनबारे चर्चा भएको परराष्ट्रले जनाएको छ ।